मलमा बिम्बाका सपना

Dramaकाठमाडौं । राजधानीको सुन्धारास्थित काठमाडौं मलमा रहेको नाटकघर थिएटर मलले आगामी शुक्रबारबाट ‘बिम्बाका सपना’ नामक नाटक मञ्चन गर्ने भएको छ । गत वैशाख १४ गतेबाट मञ्चनको तयारी गरिरहे पनि वैशाख १२ गतेको भूकम्पका कारण रोकिएको उक्त नाटक शुक्रबारदेखि मञ्चन हुन लागेको हो ।
थिएटर आकार र थिएटर मलको संयुक्त प्रस्तुति रहेको नाटकका लेखक प्रा.डा. अभि सुवेदी हुन् भने यसको परिकल्पनाकार र निर्देशक घनश्याम श्रेष्ठ छन् । सुष्मा कोइरालाको एकल अभिनय रहने नाटकको छायाँ दृश्यमा सुमन कोइराला, रविना श्रेष्ठ, विवेक गोपाली, विशाल डोटेल, प्रज्वला डंगोल, अञ्जनी भरतवाल र शंकर भण्डारीले अभिनय गर्नेछन् ।
‘भुइँचालोपछि जनजीवनमा आएको समस्या र चुनौतीका बाबजुद पनि जनजीवन सामन्य बनाउनमा नाटक र रंगमञ्चको भूमिका रहने हुँदा हामीले नाटक मञ्चन गर्न लागेका हौँ,’ थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘भुइँचालोपश्चात् थिएटर मल रहेको साततले काठमाडौं मल र नाटकघर पूर्ण रूपमा सुरक्षित रहेको अवस्थामा हामीले रंगमञ्च तथा रंगकर्मी स्वयंको दैनिकलाई समेत सामान्य बनाउन नाटक ल्याउन लागेका हौँ ।’
यो नाटकले बिम्बा उर्फ यशोधरा र छोरा राहुललाई सिद्धार्थ गौतमले छोडेर मध्यरातमा गएपछि बिम्बाले एउटा पत्नी भएर बसेको अलिखित, कसैले चर्चा नगरेको समयको कथालाई प्रस्तुत गर्दछ । पतिबिना नाबालक शिशुलाई अनेक प्रश्नको सामना गर्दै दरबारभित्र एकल महिलाले भोगेको कथा पनि नाटकमा देखाइनेछ । प्रस्तुतकर्ताले दर्शकहरूलाई सहज रूपमा नाटकबारे जानकारी दिन पोस्टरको साथमा भिडियो ट्रेलरसमेत युट्युबमार्फत सार्वजनिक गरेका छन् । ट्रेलरमा टीकाभक्त जिरेलको संगीत र विद्या तिवारीको स्वरमा तयार भएको ‘झलमल’ बोलको गीत रहेको छ । (सौस)

प्रतिक्रिया