चार विद्यालय निल

बाजुरा ९ असार । यस वर्षको एसएलसी परीक्षामा बाजुरा जिल्लाका चार सामुदायिक विद्यालय निल भएका छन् । ५७ सामुदायिक एक खुला र तीन संस्थागत विद्यालय परीक्षामा सहभागी भएकामा चार विद्यालय निल भएका छन् । परीक्षामा जिल्लाका कुल ६१ विद्यालय सहभागी थिए । निल हुनेमा कैलाशेश्वरी मावि मना, जनज्योति मावि दहकोट, देवस्थली मावि जयवागेश्वरी र भवानी मावि पुणाबाब्ला गुदुखातीका छन् । यी चारै विद्यालय अघिल्लो वर्ष पनि लगातार निल हुँदै आएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अघिल्लो वर्षको प्रवेशिका परीक्षामा ११ विद्यालय निल भएका थिए । यस वर्ष त्यो संख्या घटेर चारमा झरेको शिक्षा अधिकारी रमेशराज पौडेलले बताए । शून्य प्रतिशत नतिजा ल्याउने विद्यालयमध्ये बडिमालिका नगरपलिका भित्रकै कैलाशेश्वरी मावि पर्छ । अन्य तीन विद्यालय सदरमुकाम मार्तडीबाट एक दिनको पैदलमा छन् । त्यस्तै, एसएलसीको नतिजा हेर्दा परीक्षामा सहभागीमध्ये १० सामुदायिक विद्यालयले १० प्रतिशतसम्म पनि ल्याएका छैनन् ।

१० प्रतिशनभन्दा कम अंक प्राप्त गर्ने विद्यालय राघुमाता मावि साप्पाटाले ७ दशमदब ८१ प्रतिशत, सदरमुकाम मार्तडीमै रहेको मालिका मावि खुला तर्फ नौ दशमलब ५२ प्रतिशत, बडिमालिका नगरपालिका भित्र रहेको विद्यालय लक्ष्मी मावि जिल्ली सात दशमलब ४१ प्रतिशत, चोयाकोट मावि रजाली चार दशमलब ३५ प्रतिशत, किर्तिचौर उमावि मानाकोट तीन दशमलब ८५ प्रतिशत, मानाकोट मावि मानाकोट सात दशमलब ६९ प्रतिशत, खापरदेवस्थली मावि गुदुखाती ६ प्रतिशत, सिंगाडा मावि बाह्विस आठ दशमलब ३३ प्रतिशत, मष्टेश्वरी उमावि तोली आठ दशमलब ११ प्रतिशत र रामेश्वरी मावि किम्नी तोली दुई दशमलब २७ प्रतिशत नजिता ल्याएको शिक्षा कार्यालयको एसएलसी नतिजा तथ्यांकामा उल्लेख छ ।
नतिजा कम ल्याउने र निल भएका अधिकांश विद्यालयमा राजनीति गर्ने थलोका रूपमा चिनिदै आएका छन् । विद्यालय व्यवस्थापन समिति गठनदेखि अन्य शैक्षिक क्रियाकलापमा प्रस्टै खुलेर राजनीति हुने हुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको अभिभावकको साझा गुनासो छ । जिल्लाका मानाकोट, दहकोट, तोली, जयवागेश्वरी, गुदुखातीलगायत गाविसमा शैक्षिक उत्र्तीणदर निकै कमजोर देखिएको छ । सामुदायिक विद्यालयतर्फ थुमा मावि कुल्देवमाडौंले सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्र्तीण गर्न सफल भएको छ । ४३ जना विद्यार्थीले परीक्षा दिएकामा १४ प्रथम श्रेणी, २१ द्वितीय श्रेणी र एक तृतीय श्रेणी गरी ३६ उत्तीर्ण र ६ जना पुरकमा परेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर खातीले बताए । पार्वती मावि छताराले ७७ दशमलब ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
जिल्लाको मुटु मानिने सदरमुकाममै रहेको नाम चलेको विद्ययालय मालिका उमाविले ३७ दशमलब ६० प्रतिशत ल्याएको छ । अन्यमा नाम चलेका विद्यालय भानुदय उमाविले ६५ दशमलब ६३ प्रतिशत, रत्न उमाविले ३१ दशमलब ०८ प्रतिशत, जनप्रकाश उमावि कोल्टीले ६२ दशमलब ८३ प्रतिशत, पशुपति उमाविले ४१ दशमलब ६७ प्रतिशत मष्टेश्वरी उमावि डोगडीले ३९ दशमलब ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष नेता शिक्षक भएका विद्यालयको नजिता केही मात्रामा सुधार भने देखिएको छ । जिल्लाबाट परीक्षामा सहभागी दुई हजार ६ सय ७१ जनामध्ये ८ सय दुई अर्थात् ३० दशमलब ३२ प्रतिशत विद्यार्थी उत्तीण भएका छन् ७० सालको एसएलसीभन्दा नौ प्रतिशत बढी हो । तीमध्ये १३ विशष्टि श्रेणीमा उत्र्तीण भएका छन् भने एक सय ७२ प्रथम, पाँच सय ६५ द्वितीय र ५२ जना तृतीय श्रेणीमा उतीर्ण भएका शिक्षा कार्यालयका उमेश रेग्मीले बताए । विशिष्ट श्रेणी ल्याउने १३ जनामध्ये दुई सामुदायिक विद्यालयका रहेका छन् । बाँकी ११ निजी विद्यालयका हुन ।

प्रतिक्रिया