साक्षर घोषणा हुँदै प्युठान

प्युठान, ८ असार । यही असार २० गते प्युठान पूर्ण साक्षर जिल्ला घोषणा हुँदै छ । घोषणा कार्यक्रम अन्तिम चरणमा पुगेको जिल्ला अनौपचारिक शिक्षा समितिले जनाएको छ ।

घोषणा कार्यक्रमलाई सफल बनाउनका लागि आइतबार बसेको सर्वपक्षीय बैठकले विभिन्न उपसमिति गठन गरेको छ । घोषणा कार्यक्रममा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम र शिक्षामन्त्री चित्रालेखा यादवलाई औपचारिक रूपमा निमन्त्रणा पठाउने निर्णय भएको छ ।
जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी शिवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले जिल्लाको मध्यक्षेत्रस्थित जनता उमावि बाग्दुलामा घोषणा कार्यक्रम गर्ने तय गरेको छ ।
घोषणा कार्यक्रमका दिन जिल्लास्थित सम्पूर्ण विद्यालयलाई एक दिनको बिदा गरी सम्पूर्ण शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, वडा नागरिक मञ्चका संयोजक, आमा समूह र अभिभावकहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । कार्यक्रममा करिब १० हजार सहभागी गराउने लक्ष्य लिइएको उनले बताए ।
०६७ सालमा सुरु भएको पूर्ण साक्षर अभियान पाँच वर्षपछि गत जेठ अन्तिम सातातिर पूरा भएको हो । अनौपचारिक शिक्षा कार्यक्रममार्पत गाविसलाई पूर्ण साक्षर गराउन नसकिएपछि पछिल्लो समय कक्षा नौ र १० का विद्यार्थी परिचालन गरी पूर्ण साक्षर गाविस घोषणा गर्न सम्भव भएको बताइएको छ ।

प्रतिक्रिया