काठमाडौंका निजी विद्यालयमा अनुगमन सुरु

Studentकाठमाडौं, ६ असार । निजी विद्यालयले गरेको शुल्क वृद्धिको सरकारी अधिकारी, विद्यार्थी नेता र अभिभावकसहितको टोलीले आजदेखि अनुगमन सुरु गरेको छ ।

पहिलो दिन आज काठमाडौंका विभिन्न निजी विद्यालयमा अनुगमन गरिएको हो । भोलिदेखि भक्तपुर, ललितपुरका साथै काठमाडौं उपत्यका बाहिरका जिल्लामा समेत अनुगमन गरिने बताइएको छ ।

विद्यार्थी नेता युपी लामिछानेले विद्यालयमा शिक्षा निर्देशिका कार्यान्वयन भए/नभएको, अनावश्यक शुल्क लिए/नलिएको तथा विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयनलगायतका विषयको अनुमगन गरिएको बताए ।

अनुगमनप्रति आशङ्का व्यक्त गर्दै उनले भने, “औपचारिकताका लागि मात्र अनुगमनको कुनै औचित्य नभएकाले अनुगमनपछि गल्ती गरेको देखिएका विद्यालयलाई आवश्यक कारबाहीसमेत गर्नुपर्छ ।”

भूकम्पपछिको बिदा अवधिको ५० प्रतिशत शुल्क छुट दिन र शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन गर्न तयार भएपछि १३ विद्यार्थी सङ्गठनले यही असार १ गतेदेखि गर्ने भनिएको आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए ।

गत वैशाख ६ गते सरकार र अभिभावक तथा विद्यार्थी सङ्गठनबीच नयाँ शैक्षिकसत्रमा गरिएको शुल्क वृद्धि स्थगन गरी प्राविधिक अध्ययनपछि बढी देखिएमा फिर्ता गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया