पत्रकारसग सहकार्य गर्न बोर्ड तयार

Rajkumarकाठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले मनोरञ्जनसँग सम्बन्धित रहेर कलम चलाउँदै आएका पत्रकारसँग सहकार्य गर्न बोर्ड तयार रहेको बताएका छन् । चलचित्र पत्रकार संघले उनलाई बधाई र सम्मान दिन शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले फिल्मको विकासमा पत्रकारको भूमिका महत्वपूर्ण हुँदै आएकाले संघसँग सहकार्य गर्न आपूहरू इच्छुक रहेको जनाए ।
उनले आफ्नो प्रमुख प्राथमिकता बक्स अफिस लागू गर्ने भएकाले त्यसमा नै बढी ध्यान केन्द्रित गरेको बताए । ‘फिल्म क्षेत्रमा आएदेखि नै बक्स अफिसका कुरा गरिँदै आएको छ तर यो कसरी कहिलेदेखि लागू गर्ने भन्ने निश्चित भइसकेको छैन,’ उनले भने, ‘म अध्यक्ष भएपछि बक्स अफिस कहाँ राख्ने विषयमा बहस भइरहेको छ, अहिलेलाई हामीले नेपाल टेलिकम र सुबिसु केबल नेटवर्कको कार्यालयलाई आधार बनाएर बक्स अफिस राख्ने हो कि भन्ने सोच बनाउँदै छौँ किनकी यी दुई संस्थाको नेटवर्क राम्रो पाइएको छ ।’ उनले बक्स अफिस राखेपछि वितरक, निर्माता, प्रदर्शक, समीक्षकको एउटा समिति बनाउने र त्यसमा चलचित्र पत्रकारलाई पनि सदस्य राखिने बताए ।
संघका अध्यक्ष शान्तिप्रियले बोर्डले स्वीकृति दिएमा आफ्नो संस्था बक्स अफिसको जिम्मा लिन तयार रहेको बताए । ‘बक्स अफिस कहाँ राख्ने भन्ने विषयमा विवाद चलिरहेको छ, त्यसकारण हामी निष्पक्ष र पारदर्शी किसिमले काम गर्ने भएकाले हाम्रो संस्था पनि बक्स अफिसको जिम्मेवारी लिन तयार छ,’ उनले भने, ‘पत्रकारका लागि विशेष किसिमको तालिमको दिन र देशभरका हलको अवस्था, दर्शकको फिल्म बुझाई र उनीहरूको चाहनालगायतका विषयमा अध्ययन अनुसन्धान गर्नका लागि बोर्डसँग सहकार्य गर्न तयार छौँ ।’
संघका उपाध्यक्ष विष्णु सुवेदीले फिल्म निर्माणमा निर्माता, वितरक र प्रदर्शकलाई तीन खम्बा मानिँदै आए पनि अब त्यसमा प्रवद्र्धकका रूपमा चलचित्र पत्रकारहरूलाई पनि समेट्नुपर्नेमा जोड दिए । (सौस)

प्रतिक्रिया