काठमाडौं । युहान इभेन्ट इन्टरनेसनलले राजधानीमा आयोजना लागेको ‘मिस्टर एसएसली नेपाल’ र ‘मिस एसएलसी नेसनल २०१५’का प्रतिस्पर्धीमाझ वर्तमान मिस नेपाल सुबिन लिम्बूले आफ्ना अनुभव साटेकी छन् । तीनकुनेस्थित ग्रिन क्याफेमा प्रशिक्षणरत प्रतियोगीलाई सुबिनले कसरी स्टेजमा प्रस्तुत हुने, कसरी मानिससँग फेस टु फेस गर्ने जस्ता व्यक्तित्व विकासबारे एक घन्टा प्रशिक्षण दिएकी थिइन् । ‘सबै प्रतियोगी ट्यालेन्ट रहेछन्’ सुबिनले प्रशिक्षणपछि भनिन्,‘उनीहरूमा केही गर्ने जोश र जागर छ ।’ उनले प्रतियोगीको क्याटवाकलगायत गतिविधि पनि नियालेकी थिइन् ।
‘मिस एसएलसी नेसनल–२०१५’मा ३० छात्रा र ‘मिस्टर एसएलसी नेपाल’मा २१ छात्र प्रतिस्पर्धारत छन् । उनीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले दुई सातायता नियमित प्रशिक्षण दिइरहेका छन् । त्यससँगै अन्तिम स्पर्धाका लागि तयारी गरिरहेका उनीहरूलाई विभिन्न सेलिबे्रटी तथा व्यक्तित्वले पनि गु्रमिङ क्लास दिँदै आएका छन् । एसएलसी दिएर बसेका विद्यार्थी लक्षित गरेर प्रतियोगिता आयोजना गरेको इभेन्टकी अध्यक्ष सञ्चिता श्रेष्ठले बताइन् । दुवै प्रतियोगिताको फाइनल १८ असारमा राजधानीमा हुनेछ । (सौस)
प्रतिक्रिया