काठमाडौं । पत्रकार अश्विनी कोइरालाको दोस्रो पुस्तक ‘जुकरबर्ग क्याफे’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चर्चित अभिनेत्री करिश्मा मानन्धर, नारी तथा कान्तिपुर साप्ताहिकका प्रधानसम्पादक सुवास ढकाल, लेखकद्वय सुविन भट्टराई र बुद्धिसागर, पत्रकार तथा बुकहिलका प्रबन्ध निर्देशक पवन आचार्य तथा लेखक कोइरालाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकमा कथा संग्रह रहेको छ । पुस्तकबारे टिप्पणी गर्दै टिप्पणीकार सुबिन भट्टराईले पुस्तक सरल भाषामा लेखिएकाले पाठकलाई पढ्दा कुनै तनाव नहुने बताए । ‘कथाको प्रस्तुतीकरण एकदमै लोभलाग्दो छ,’ उनले भने, ‘लेखक पत्रकार भएकाले कथामा पनि पत्रकारिताको लेखाइको छनक देखिन्छ, तर कथामा कलात्मक प्रस्तुति भइदिएको भए अलिक राम्रो हुने थियो ।’
अर्का टिप्पणीकार बुद्धिसागरले पुस्तकमा पत्रकारको कथा प्रस्तुत गरिएको जनाउँदै कथा संग्रह भनिए पनि पुस्तकमा उपन्यासको फ्लेबर आउने खुलाए । ‘पुस्तकले प्रेमको कथा बोल्छ, तर ती सबै प्रेम असफल नै छन्,’ उनले भने,‘तर यो पुस्तक १० वर्ष अगाडि आइदिएको भए अझ राम्रो हुने थियो ।’
अभिनेत्री करिश्माले आफू हाल गान्धीका पुस्तक पढिरहेको बेला कोइरालाको पुस्तकले नयाँ स्वाद दिनेमा विश्वास व्यक्त गरिन् । ‘नामअनुसार पुस्तकले पक्कै पनि पिज्जा, बर्गर, स्यान्डविचजस्ता खानेकुराको स्वाद दिनेछ ।’ उनले भनिन् । प्रधानसम्पादक ढकालले आफ्ना सहकर्मीको कृतिले युवा पुस्ताको मन छुनेमा विश्वास व्यक्त गरे ।
लेखक कोइरालाले आपूले १६ देखि २५ वर्ष उमेर समूहका युवालाई लक्षित गरेर पुस्तक ल्याएको जनाउँदै चाँडै नै पाठकले रुचाएकामा आभार व्यक्त गरे । ‘मलाई सुरुमा बौद्धिक वर्गले मेरो पुस्तकबारे नराम्रो कुरा गर्लान् कि भन्ने लागेको थियो, तर उहाँहरूले नै पुस्तक मनपराइदिनुभयो,’ यसअघि ‘उनी’ पुस्तक लेखिसकेका कोइरालाले भने,‘पुस्तकमा प्रेमसँगै गम्भीर विषयका कुराहरू पनि उठान गरिएको छ ।’
बुकहिल पब्लिकेसनले बजारमा ल्याएको २ सय १३ पृष्ठको पुस्तकको मूल्य ३ सय रुपैयाँ रहेको छ । प्रकाशन गृहका प्रबन्ध निर्देशक आचार्यले पहिलो संस्करणका रूपमा ५ हजार पुस्तक छापिएकामा सबै पुस्तकको बिक्री भइसकेको जानकारी दिए । पुस्तकमा पोर्न स्टार सन्नी लियोनको कथादेखि म्याक्सिवालीको कथा समेत समावेश गरिएको छ । (सौस)
प्रतिक्रिया