विद्यालय बनाउँदै नेविसंघ

ओखलढुंगा । शैक्षिक संस्था पुनर्निर्माणमा जुटेको नेपाल विद्यार्थी संघले ओखलढुंगाका विभिन्न गाविसमा विद्यालयका अस्थायी कक्षाकोठा निर्माण गरिरहेको छ । विभिन्न राजनीतिक दल, दलका आवद्ध भ्रातृसंगठन र विद्यार्थी संघ/संगठनले अभियानात्मक रूपमा काम
गरेको भए पनि नेविसंघले अस्थायी कक्षाकोठा निर्माणको कामलाई अभै निरञ्तरता दिइरहेको हो ।
सुरु १५ वटा विद्यालयमा अस्थायी कक्षा कोठा निर्माण गर्ने योजना सार्वजनिक गरिएको भए पनि विद्यालयको अवस्था देखेर सकेसम्म धेरै विद्यालयलाई सहयोग गर्ने योजना बनाएर लागिपरेको नेविसंघ केन्द्रीय सदस्य एवं अभियान संयोजक लीलाबल्लभ दाहालले बताए ।
उनका अनुसार नेविसंघको स्वयंसेवी टोलीले जिल्लाका विगुटार, हर्कपुर, टारकेराबारी, पोकली रगनी, खिजिचण्डेश्वरीलगायतका गाविसमा पुगेर अस्थायी कक्षाकोठा निर्माण सम्पन्न गरिसकेको छ भने खिजिकातीको कुण्डली माविमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेविसंघको स्वयंसेवी टोलीलाई विभिन्न गाविसका स्थानियले विपत्मा सहयात्री बनेको भन्दै बेहुली अन्माउँदाको झझल्को दिनेगरी बिदाई गरेका छन् ।
भूकम्पबाट क्षतिग्रस्त विद्यालयमा अस्थायी कक्षा कोठा निर्माणमा नेपाली सेनाको शमशेर दल गण, राजनीतिक दल र विभिन्न विद्यार्थी संघ संगठनले अभियान नै सञ्चालन गरेका थिए । त्यस्तै मनकामना मावि वाक्सामा शमशेरदल गणको टोली र स्थानीयको पहलमा चार कोठे अस्थायी कक्षा कोठा निर्माण सम्पन्न भएको शिक्षक मणिराम भट्टराईले जानकारी दिए । यसैबीच क्षतिग्रस्त विद्यालयहरूलाई विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिबाट प्राप्त सहयोगले विद्यालय सञ्चालनमा निकै सहज भएको विद्यालय व्यवस्थापन समिति महासंघका जिल्ला अध्यक्ष कमल न्यौपानेले बताए । (सौस)

प्रतिक्रिया