मुम्बई । बलिउड निर्देशक सञ्जय गुप्ता र उनको टिम फिल्म ‘जज्बा’ को सुटिङका लागि तयारी गरिरहेका छन् । यसै फिल्ममार्फत पूर्व विश्वसुन्दरी तथा बलिउडकी सुन्दरी अभिनेत्री ऐश्वर्या राय बच्चन फिल्म उद्योगमा पुनरागमन गर्दैछिन् । मुम्बईको फिल्म सिटीबाट छायांकन सुरु हुने फिल्मका लागि त्यहाँ ‘बम्बे हाइकोर्ट’ को सेट बनाइएको छ, जसको लागत ८० लाख रुपैयाँ रहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुरुमा उक्त कोर्टलाई ‘सीक्वेन्स’ कोर्टका रूपमा बनाउन लागिए पनि सुरक्षाका कारण यसलाई सिटीभित्रै सारिएको हो । फिल्म १९ जूनबाट छायांकन हुँदैछ । ‘कोर्ट रूपमको दृश्य फिल्मका लागि खिच्न निकै जरुरी छ, हामी यसका लागि चार महिनादेखि तयारी गरिरहेका थियौँ,’ फिल्मका सहायक निर्देशक नदीम शाहले भनेका छन् ।
सेट बनाउनका लागि फिल्मको प्राविधिक पक्षले कैयौँ दृश्य आन्तरिक र बाह्य डिजाइनरलाई बुझाएका थिए । ‘हामी कोर्टको माहौल बनाउन चाहन्थ्यौं, कोर्टको प्रक्रियालाई पनि वास्तविक देखाउन चाहन्थ्यौँ, हामीले कुल ८० लाखमा सेट तयार पारेका छौँ, फिल्ममा केही ठूलो कुरा देखाउन पैसामा कुनै कम्प्रमाइज गरेका छैनौँ,’ शाहले भने । (एजेन्सी)
प्रतिक्रिया