काठमाडौं, ३१ जेठ । निजी विद्यालयहरू भूकम्पका कारण पढाइ नभएको एक महिनाको शुल्क मिनाहा गर्न तयार नभएपछि विद्यार्थी संगठन आन्दोलित भएका छन् ।
शनिबार विद्यार्थी संगठनले एक महिनाको शुल्क मिनाहा र ६ वैशाखमा भएको १० बुँदे सहमति कार्यान्वयन माग गर्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरूले निजी विद्यालयले मासिक शुल्क मिनाहा नगरेकाले आन्दोलन गर्नुपरेको बताए । विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता गर्न सरकार, निजी विद्यालय र विद्यार्थीबीच ६ वैशाखमा सहमति भएको थियो । केही दिनअघि निजी विद्यालयले अन्य सेवा शुल्क मिनाहाको निर्णय आफूहरूलाई अमान्य भएको बताउँदै विद्यार्थी संगठनले मासिक शुल्क नलिन बाध्य पार्न आन्दोलन घोषणा गरेका हुन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले सरकार र निजी विद्यालयले आफ्ना माग सम्बोधन नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । ‘सरकार र निजी विद्यालयले हाम्रा कुरा सुनेनन्,’ उनले भने, ‘बाध्य भएर आन्दोलन गर्नुपरेको हो ।’
पहिलो चरणमा एक असारदेखि शिक्षा मन्त्रालय र निजी विद्यालयका मालिक चढ्ने गाडीमा रोक लगाउने कार्यक्रम तय भएको छ । विद्यार्थीले आइतबार प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने, सोमबार जिल्लास्तरीय बैठक बसेर अनुगमन समूह निर्माण गरी मंगलबारदेखि शिक्षा मन्त्रालय र निजी विद्यालयका मालिक चढ्ने गाडीमा रोक लगाउने कार्यक्रम बनाएका छन् ।
बिहीबार प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा एक महिनाको यातायात, प्रयोगशाला, खाजाखर्च मिनाहा गर्ने जनाएका थिए ।
प्रतिक्रिया