शिक्षामन्त्रीको फोनले रोकियो आन्दोलन

काठमाडौं, २८ जेठ । निजी विद्यालयले पढाइ नभएका समयको शुल्क मिनाहा नगर्ने भएपछि विद्यार्थी संगठन आन्दोलनको तयारीमा जुटेका छन् । विद्यालयले शुल्क मिनाहा गर्ने छाँटकाँट नदेखाएपछि विद्यार्थी संगठन आन्दोलनको तयारीमा लागेका हुन् ।

बुधबार विद्यार्थीे संगठनको संयुक्त बैठकले निजी विद्यालयले अझै पनि भूकम्पका बेला पढाइ नभएको शुल्क मिनाहा गर्नुको सट्टा विद्यार्थीलाई बिल थमाउँदै पठाउन थालेपछि आन्दोलनको तयारी गरेका हुन् ।
अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले विद्यालयले अझै पनि शुल्क मिनाहा नगरेकाले आन्दोलन गर्ने जानकारी दिए । ‘नपढाएका समयको शुल्क मिनाहा गर्न हामीले पटकपटक निजी विद्यालयलाई आग्रह गर्‍यौँ,’ उनले भने, ‘तर, शुल्क मिनाहा गर्नुको सट्टा अनावश्यक बिल विद्यार्थीलाई भिडाउँदै छन् । त्यसैले अब शुल्क मिनाहा गर्न आन्दोलनको विकल्प छैन ।’ उनले अब गरिने आन्दोलन शैक्षिक आमहड्ताल हुने जानकारी दिए । विद्यार्थी संगठनले पढाइ नभएको समयको शतप्रतिशत शुल्क मिनाहा गर्नुपर्ने माग राखेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का महासचिव डिके ढुंगानाले विद्यार्थीले पढाइ नभएको बेलाको शुल्क लिँदा सतर्कता गराउनु जायज भएको भन्दै अहिल्यै आन्दोलन गर्नु राम्रो नहुने बताए । उनले प्याब्सनको भोलि बिहीबार बस्ने सचिवालय बैठकले केही निर्णय गराउने जानकारी दिए । ‘उहाँहरूले सचेतना गराउनु जायज हो तर यतिबेला आन्दोलन गर्ने समय होइन,’ उनले भने, ‘यतिबेला त विद्यालयमा आउने बालबालिकालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हो ?’
यसैबीच तत्काल आन्दोलनका घोषणा कार्यक्रम नगर्न शिक्षामन्त्री चित्रालेखा यादवले विद्यार्थी संगठनलाई भनेकी छिन् । विद्यार्थीले शैक्षिक आमहडतालसम्मका कार्यक्रम सार्वजनिक गर्ने भनेपछि मन्त्रीले विद्यार्थी नेतालाई फोन गरी तत्काल आमहड्तालका कार्यक्रम रोक्न भनेकी छिन् । मन्त्री यादवले निजी विद्यालयसँग बिहीबार छलफल गरी शुल्क मिनाहा गर्ने आश्वसान दिएकी छिन् । विद्यार्थी संगठनहरूले बुधबार नै शैक्षिक आमहडतालसम्मका आन्दोलन घोषणा गर्ने कार्यक्रम थियो ।
नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले मन्त्रीले बिहीबारसम्म शुल्क मिनाहा गर्ने आवश्वसान दिने भनेकाले आन्दोलनका कार्यक्रम सार्वजनिक नगरिएको जानकारी दिए । ‘मन्त्रीले भोलि बिहीबार शुल्क मिनाहा गर्ने भन्नुभएकाले हामीले आन्दोलनका कार्यक्रम घोषणा गरेनौँ,’ उनले भने, ‘भोलि मन्त्रीले शुल्क मिनाहा नगरे आन्दोलन घोषणा गर्छौं ।’

प्रतिक्रिया