राजधानीका अधिकांस विद्यालयमा आजदेखि पढाइ सुरू

काठमाडौं, २४ जेठ । वैशाख १२, १३ र १९ गतेको भूकम्पका कारण बन्द भएका राजधानीसहितका केही प्रभावित जिल्लाका सामुदायिक र निजी विद्यालयहरूमा आजदेखि पठनपाठन सुरू भएको छ ।

राजधानीका अधिकांश सामुदायिक र निजी विद्यालयमा आजदेखि नियमित पठान पाठन सुरू भएको जनाइएको हो । भत्किएका भवनको मर्मत र अस्थायी कक्षा कोठाहरू निर्माण गरेर पढाइ सुरू गरिएको शिक्षा विभागले जनाएको छ ।

अति प्रभावित जिल्लाका धेरै भौतिक क्षति भएका विद्यालयमा भने पठान पाठन सुरू हुन सकेको छैन ।

उनन्चास जिल्लामा गरी छ हजार ९ सय २ विद्यालय र १६ हजार ४७५ कक्षाकोठा भूकम्पबाट पूर्णतः प्रभावित भएका छन् भने ३८० विद्यार्थी र ६४ शिक्षकको निधन भएको छ ।

विद्यालय पुनः सञ्चालनका लागि क्षति पुगेको विद्यालयमा टहरा बनाई कक्षाकोठा निर्माण, शौचालय, खानेपानीलगायतको व्यवस्थापन गरी सहज वातावरण तयार गर्न सरकारले न्यूनतम ७५ हजारदेखि तीन लाखसम्म रकम निकासा दिने निर्णय गरे पनि सो रकम सबै विद्यालयमा नपुगेको पाइएको छ ।

प्रतिक्रिया