राखेप सदस्य सचिव लामाले भने, ‘उपाध्यक्ष टेन्डी शेर्पा सुन तस्कर हुन्’

Tendi Sharpaकाठमाडौं, १९ जेठ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले परिषद (राखेप) का उपाध्यक्ष लामा टेण्डी शेर्पा आक्रोश व्यक्त गरेका छन् ।

लामाले आज विज्ञप्ति जारी गरेर राखेपका उपाध्यक्ष शेर्पाले केही अखबारहरूमा राखेप र सदस्य–सचिवलाई मुछेर भ्रम फैल्याउने गरी अभिब्यक्ति दिएको आरोप लगाएका हुन् । उनले शेर्पाको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘राखेपको ऐन–नियम, निर्देशिका, कार्यविधी र राखेप निर्णय बमोजिम निरीक्षण, निर्देशन र कानुनको पालना गर्ने गराउने व्यवस्था उपाध्यक्षमा पनि छ । आफ्नो अधिकार प्रयोग गर्नुको सट्टा अर्नगलरुपमा अप्रमाणित र अराजनीतिक भडास् सञ्चारमाध्यममार्फत पोख्दै हिड्नुले खेलकुद क्षेत्रको गरिमामा आँच आउने निश्चित छ’, विज्ञप्तिमा भनिएको छ, ‘राखेप कानुनको अक्षरंस पालना गर्ने, पारदर्शी र खेलकुदको विकासमा लागीपरेको स्वतन्त्र संस्था हो भन्ने कुरा घाम जत्तिकै छर्लङ छ ।’

सदस्य सचिव लामाले भनेका छन्, ‘यसप्रति शंका हुने जो कोहीलाई राखेपमा आएर अनुसन्धान गर्न र बुझ्न म अनुरोध पनि गर्दछु ।’

राखेपबाट गैह्र कानुनी काम भइरहेको उपाध्यक्षको आरोप शतप्रतिशत तथ्यहीन रहेको सदस्य सचिव लामाको दाबी छ ।

Yuvraj Lama

‘सुन तस्करी गरेको आरोपमा केहीसमय अघि एक दिन प्रहरी हिरासतमा बसेका र १३ लाख धरौटीमा छुटेको भनि सार्वजनिक भएका उपाध्यक्ष लामा टेण्डी शर्पाले कानुन र नैतिकताको कुरागर्नु आफैंमा हाँस्यस्पद छ’, सदस्य सचिव लामाले विज्ञप्तिमा भनेका छन् ।

‘तस्करी लगायतका सार्वजनिक अपराधमा मुछिएका व्यक्तिले सार्वजनिक पदमा बसिरहने नैतिकता नहुने स्मरण गराउन चाहान्छु’, लामाले अगाडि भनेका छन्, ‘अतः राखेप र सदस्य–सचिवलाई मुछेर समग्र खेलकुद क्षेत्रलाई नै बदनाम गर्नेगरी दिएको अभिव्यक्ति तत्काल फिर्ता लिन पनि म आग्रह गर्दछु ।’

नेपाल हकी संघ विघठन, क्रिकेट विकास बोर्डको कार्यविधिलगायतका विषयमा सदस्य सचिव लामा र उपाध्यक्ष शेर्पाबीच विवाद छ । सोही विवादलाई केन्द्रमा राखेर एमाले एमाओवादी निकट सदस्य सचिव लामा र एमाले निकट शेर्षबीचको दोहरी छताछुल्ल भएको हो ।

प्रतिक्रिया