शुल्क लिने निर्णयविरुद्ध विद्यार्थी संगठनहरू आन्दोलित

Student Statmentकाठमाडौं, १९ जेठ । निजी विद्यालयले भूकम्पका कारण पढाइ नभएको अवधिको पनि शुल्क माग्ने विद्यालयविरुद्ध विद्यार्थी संगठनले आन्दोलनको तयारी गरेका छन् ।

उनीहरूले विपत्तिको सामना गर्न परिरहेका बेला निजी विद्यालयले मौकाको फाइदा उठाउन खोजेको आरोप लगाएका छन् ।

निजी विद्यालयका सञ्चालक र सरकारी निकायका अधिकारीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले आन्दोलनको तयारी गर्नुपरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

अनेरास्ववियु(छैटौँ)का अध्यक्ष अनिलकिशोर घिमिरेले पनि निजी विद्यालयले मनपरी शुल्क लिएकाले मिनाहाका लागि दबाब दिन संगठनका बीचमा छलफल भइरहेको जानकारी दिए ।

विद्यालय भवनको भाडा तिर्नुपर्ने बहानामा पठनपाठन नै नभएको समयको समेत पुस्तकालय , अतिरिक्त क्रियाकलाप, खेलकुद, सवारी शुल्क आदि लिनु सरासर अव्यावहारिक भएको लामिछानेले बताए । उनले कुनै पनि हालतमा आफूहरुले एक महिनाको शुल्क मिनाहा गराइछाड्ने दावी गरे ।

आफ्ना मागका बारेमा शिक्षा मन्त्रालय मौन बसेको भन्दै विद्यार्थी संगठनले असन्तुष्टि व्यक्त गरेका छन् । गत वैशाख ६ गते भएको सम्झौता कार्यान्वयनतर्फ तत्काल सरकार लाग्नुपर्ने उनीहरूको माग छ ।

विपत्तिबाट फाइदा नभई मानवीयता प्रदर्शन गर्न विद्यार्थी संगठनले निजी विद्यालयलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया