मेलम्चीमा कक्षा चलाउनै सकस

सिन्धुपाल्चोक । शिक्षा मन्त्रालयबाट टहरा बनाउन निकासा भएको रकम नपाउँदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा रहेका स्कुलका कक्षा सञ्चालनमा सकस भएको छ । आइतबारबाट मुलुकभर स्कुल खुले पनि टहरा बनाउन नपाउँदा सकसले कक्षा सञ्चालन गर्नुपरेको मेलम्चीका स्कुलले जनाएका छन् ।

अस्थायी टहरा निर्माणका लागि रकम नआएपछि स्कुलले विद्यार्थीलाई चौरमा राखेर कक्षा सञ्चालन गरेका थिए । मेलम्ची–९ पीपलचौरस्थित कालिकादेवी मावि, जलवाई मावि दुवाचौर वैरनी, इन्द्रेश्वरी उच्चमावि मेलम्ची, जालपादेवी उच्चमावि बाहुनपाटी, तेस्रे उच्चमावि तालामारङ र सरस्वती मावि महाकालले अस्थायी टहराका लागि सरकारले उपलब्ध गराउनुपर्ने रकम पाएका छैनन् । वैशाख १२ गते आएको भूकम्पले स्कुल पढ्न नहुने भए पनि रकम अभावले अस्थायी कक्षा कोठा बनेका छैनन् ।
कालिकामाविका प्रधानाध्यापक माधवप्रसाद ढकालले अस्थायी कक्षा कोठा बनाउने रकम नआएकाले विद्यार्थीलाई भुइँमा नै राख्नुपरेको बताए । उनले भौतिक पूर्वाधार नै नभएको अवस्थामा सरकारले स्कुल खोलेर जबरजस्त पढाउनुपर्छ भनेर दबाब दिएको बताए । ‘भएको स्कुल भूकम्पले बस्न योग्य छैन । स्कुल सरकारले खोल्न भनेको छ’, उनले भने, ‘खोलेर मात्र के गर्नु, खोल्न त खोल्यो तर भवन छैन कहाँ पढाउने त ?’
उनले सरकारले स्कुल केही पनि नदिएकाले स्कुल खोल्ने काम मात्र भएको बताए । रकम नआउँदा अस्थायी कक्षा कोठा बनाउन नसकेको उनले बताए । ढकालले भर्खरै राम्रो बन्दै गएको स्कुल भूकम्पले क्षति पुगेपछि विद्यार्थीलाई बस्ने ठाउँ नै नरहेको बताए ।
सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी कक्षा कोठा निर्माण गर्न प्रतिकक्षा २५ हजारका दरले बजेट विनियोजन गरेको छ । जलबाई माविका शिक्षक मधुसूदन धितालले कक्षा कोठा बनाउने रकम नआएपछि बच्चालाई चौरमा राख्नुपरेको बताए ।
अहिले ती स्कुलका डेक्स, बेन्च राख्ने ठाउँ नभएपछि भवन अगाडि छन् । तेस्रेमाविका शिक्षक जितराज थापाले जिल्ला शिक्षा कार्यालयले भत्किएका कक्षा कोठा बनाउन रकम दिने भने तापनि अझै नदिएको बताए । (सौस)

प्रतिक्रिया