जुरिच, १४ जेठ । स्विवट्जरल्यान्डका प्रहरीले विश्व फुटबल महासंघ (फिफा) का पदाधिकारीलाई अवैध सम्पत्तिमा चलखेल गरिरहेको अवस्थामा पक्राउ गरेको छ । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार अमेरिकाको न्याय विभागको अनुरोधमा बुधबार बिहानै सादा पोसाकमा खटिएका स्विस प्रहरीले फिफा पदाधिकारी बसेको स्विट्जरल्यान्डको जुरिचस्थित पाँचतारे बउर वु लाक होटलबाट फिफाका एक उपाध्यक्षसहित नौ पदाधिकारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा फिफा उपाध्यक्ष तथा उत्तर र मध्य अमेरिका तथा क्यारेवियन फुटबलका प्रमुख आइल्यान्डका जेफ्री वेब्ब, उरुग्वेका युजिनिओ फिगुर्डो, कोस्टारिकाका इडवार्डाे ली र ब्राजिलियन फुटबल फेडेरेसनका जोस मारिया मारिन छन् । यसैगरी, फिफका विकास निर्देशक जुलियो रोचा, फिफाका पूर्वउपाध्यक्ष ज्याक वार्नर, फिफाका पूर्वसदस्य निकोलस लियोज, कोन्काफका क्षेत्रका अध्यक्ष कोस्टास टक्कास र भेनेजुएला फुटबल संघका अध्यक्ष राफेल इस्कुभेल पनि पक्राउ परेका छन् । यी अधिकारीमाथि पछिल्लो २० वर्षमा रुस विश्वकप र कतार विश्वकप आयोजनालगायतमा गैरकानुनी रूपमा पैसा बाहिर पठाएको र छलछाम गरेको आरोप लगाइएको छ । अमेरिकाका एफबिआईले फिफामा अनियमिता भएको भन्दै त्यसबारेमा अनुसन्धान गरिरहेको थियो । अनियमितता गरेकै आरोपमा उनीहरू पक्राउ परेका हुन् । फिफा अध्यक्ष सेप ब्लाटरले आफूहरूमाथि एफबिआईले अनुसन्धान गरिरहेको बताएका थिए । बिबिसीका अनुसार पक्राउ परेका सबै पदाधिकारीलाई अवैध धन थुपारेको अभियोगमा अमेरिकी निकायमा मुद्दा चलाइने बताइएको छ । फिफाका महासचिव जेरेमी भाल्केले पदाधिकारी समातिएपछि होटलमा पुगेर अध्ययन गर्दै भ्रष्टाचारको आरोप गलत भएको दाबी गरे ।
फिफाका प्रवक्तासमेत रहेका भाल्केले भने, ‘मिडियामा रिपोर्ट आइरहेका छन् । हामीले यसबारे अनुसन्धान गरिरहेका छौँ यो अवस्थामा बढी टिप्पणी गरेर केही हुन्न ।’ फिफाका प्रत्यासी राजकुमार अली बिन अल हुसेनले सो घट्नापछि मतपरिणाममा प्रभाव पार्ने भन्दै फुटबलको लागि एकदमै खराव दिन भएको बताएका छन् । फिफाका सञ्चार निर्देशक वाल्टर डि ग्रिगोरियोले फिफा पछिल्लो समय भ्रष्टचारमा मुछिएको बताए ।
अब संगठन सुधार्नुपर्ने बेला आएको छ । ‘केही भ्रष्ट पदाधिकारी समातिएका छन् ।’ पदाधिकारी समातिएपछि वाल्टरले भने, ‘भ्रष्ट पदाधिकारी समातिनु फुटबलका लागि राम्रो हो । यो सहज छैन । तर, यो थाहा भयो कि फिफा राम्रो बाटोमा रहेनछ ।’
ब्लाटरको समर्थनमा रहेका एक उपाध्यक्षसहित नौ जना पक्राउ परेपछि लगातार पाँचौँपटक फिफा अध्यक्ष बन्ने धुनमा रहेका ६९ वर्षीय सेप ब्लाटरलाई ठूलो धक्का लाग्ने देखिएको छ । उनलाई आफ्नै कार्यसमितिका उपाध्यक्ष एवं जोर्डनका राजकुमार अली बिन अल हुसेनले चुनौती दिएका छन् । चुनावी सभाका लागि फिफाका सबै सदस्य राष्ट्रका प्रतिनिधि स्विट्जरल्यान्डको जुरिचमा पुगिसकेका छन् । फिफाको चुनावी साधारणसभा शुक्रबार हुँदै छ ।
प्रतिक्रिया