विद्यालयलाई प्याब्सनको सहयोग

काठमाडौं, १४ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले भूकम्पप्रभावित जिल्लाका कक्षाकोठा बनाउन रकम दिएको छ ।

बुधबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनले भूकम्पप्रभावित ११ जिल्लालाई कक्षा कोठा बनाउन एक लाखदेखि तीन लाख रुपैयाँसम्म रकम हस्तान्तरण गरेको हो । प्याब्सन अध्यक्ष लक्ष्यबहादुर केसीले जिल्ला शाखाका अध्यक्षलाई रकम हस्तान्तरण गरे । रकमले भत्किएका कक्षा कोठा बनाएर विद्यालय खोल्न सहयोग पुग्ने केसीले बताए । ‘अहिले हामीले भत्किएका कक्षाकोठा बनाएर विद्यालय सञ्चालन गर्न थोरै रकम दिएका छौँ,’ उनले भने, ‘यसले पक्कै पनि विद्यार्थीलाई विद्यालय आउने वातावरण बनाउनेछ ।’
प्याब्सनले रसुवा र रामेछापलाई एक–एक लाख, गोर्खालाई दुई लाख र सिन्धुपाञ्चोक, दोलखा, धादिङ, भक्तपुर, ललितपुर, काठमाडौंलाई टहरा निर्माण गर्न तीन लाख दिएको छ ।
प्याब्सनले आफ्ना शाखाबाट राहत संकलन गरेर सहयोग गरेको हो । अध्यक्ष केसीले दैवीप्रकोपले सरकार र निजी नछुट्याएको बताउँदै भने, ‘सरकारले आफूहरूलाई कुनै राहत दिएको छैन, हामी आफैँले केही संकलन गरेर दुःखमा परेकालाई सहयोग गरेका छौँ ।’ उनले सरकारबाट सहयोग नपाउने भएपछि आफैँ राहत सहयोग जुटाएर कक्षा सञ्चालन गर्न लागेको बताए ।
‘हाम्रा पनि सयौँ विद्यालय भत्किएका छन् तर सरकारबाट हामीले प्राथमिक उपचार पनि पाएका छैनौँ,’ उनले भने, ‘आफैँले सहयोग जुटाएर कक्षाकोठा निर्माण गरेर विद्यालय सञ्चालनको तयारी थालेका हौँ ।’
आउँदो आइतबारबाट विद्यालय खुल्दै छन् । अध्यक्ष केसीले आफूहरूका विद्यालय भत्किए पनि रूखको छहारी वा खुला ठाउँमा भए पनि कक्षा सञ्चालन गरिने बताए । ‘जबसम्म विद्यालयमा बालबालिका जाँदैनन्, जनजीवन अवरोधजस्तै हुन्छ,’ उनले भने, ‘त्यसैले विद्यालय सञ्चालन नभएसम्म जनजीवन असामान्य जस्तो हुने भएकाले टेन्ट नभएको ठाउँमा रूख वा खुला ठाउँमा कक्षा सञ्चालन गर्छौँ ।’
अध्यक्ष केसीले विद्यालय सञ्चालन भएको एक सातसम्म बालबालिकामाथि परेको भूकम्पको त्रास कम गर्ने कक्षा सञ्चालन गरिने जानकारी दिए । उनले एक महिना बन्द हुँदा २६ दिनको पढाइ छुटेको जानकारी दिँदै त्यसलाई हिउँदे, वर्षे बिदा, स्थानीयस्तरका चाडबाडलगायत बिदामा समायोजन गरिने बताए । उनले एक सय ९० दिन पढाइ हुने बताउँदै सानो त्रैमासिक परीक्षा पनि कटौती गरिने बताए । उनले आमाबुवा गुमाएका बालबालिकालाई छात्रवृत्तिमा पढाइने पनि जानकारी दिए ।
सचिव राजेन्द्र बानियाँले १७ जेठदेखि पढाइ सञ्चालन गर्दा पनि एक सय ५० विद्यालय सञ्चालन गर्न समस्या भएको जानकारी दिए । उनले देशभर पाँच सय विद्यालयका पाँच हजार कक्षाकोठा पढाउन लायक नभएको बताए । उनले १० अर्ब रुपैयाँबराबरको शैक्षिक पूर्वाधारमा क्षति पुगेको जानकारी दिए ।
प्याब्सनले विद्यालयको पुनर्निर्माण र सञ्चालनका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सरकार, शिक्षा मन्त्रालय, राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थासँग सहयोगका लागि अपिलसमेत गरेको छ । प्याब्सनले विज्ञप्ति निकालेर विद्यालय भवन पुनर्निर्माणका लागि अपिल गरेको हो । ध्वस्त भएका विद्यालयको पुनर्निर्माणका लागि सरकारको पहलमा राष्ट्र बैंकलगायत वित्तीय संस्थाबाट सहुलियत ऋणको व्यवस्था गरी सहयोग गरिदिनसमेत प्याब्सनले आग्रह गरेको छ ।

प्रतिक्रिया