काठमाडौं, १३ जेठ । केही दिन अघिसम्म भूकम्पपीडितलाई राहत सामग्री वितरणगर्ने कार्यमा सक्रिय रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) ले सो कार्यलाई स्थग्न गरी भूकम्पपीडितलाई बवासको व्यवस्था गरिदिने उद्देश्यले पुनःस्थापना अभियानमा लागेको छ ।
पुनःस्थापना अभियानअन्तर्गत एनटिएले अत्यावश्यक परिवारको पहिचान गरी १५ पीडित परिवारलाई अस्थायी घर बनाइदिने घोषणा गरेको थियो । घोषित अभियानको सुरुआतमा एनटिएले कागेश्वरी मनहरा नगरपालिका गागलफेदी, सान्टारी ३ मा रामसुन्दर कुइँकेलको परिवारलाई अस्थायी घर बनाइदिएको छ । भूकम्पअघि श्रीमती, पाँच छोरी र एक छोर सहित कुइँकेल परिवार बस्दै आएको घर वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । सोही भूकम्पमा परी कुइँकेल आफैँ पनि घाइते भएका थिए । अहिले पनि कुइँकेल ‘बेड रेस्ट’मा रहेको एनटिएका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले जनाएका छन् ।
घर बनाउन जस्तापाता, बास र काठको खम्बा खरिद गरिएको थियो भने भत्केको घरको ढोका, झ्याल र इँटालाई प्रयोग गरिएको थियो । करिब २० हजार लागतमा अस्थायी घरको निर्माण कार्य मंगलबार सम्पन्न भएको हो ।
घर निर्माण कार्यमा अशोकसहित एनटीएका महासचिव तीर्थराज घिमिरे र सदस्य माधव खरेललगायत पदाधिकारी, मिसेस नेपाल रजनी थापा तथा व्यवसायी निराजन सिंह खटेका थिए । निर्माणकालागि युकेमा रहेकी सुधा गुरुङ र साथीले आर्थिक सहयोग गरेको बताइएको छ । (सौस)
प्रतिक्रिया