स्नातक तेस्रो वर्षको परीक्षा ३१ जेठबाट

काठमाडौं, १३ जेठ । त्रिभुवन विश्वविद्यालयले स्थगित गरेको स्नातक तह तेस्रो वर्षको परीक्षा ३१ जेठबाट गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयको सोमबार बसेको बैठकले स्नातक तेस्रो वर्षसहित रोकिएको परीक्षा ३१ जेठबाट गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक केशव बाँस्तोलाले केन्द्रको अवस्था बुझ्दा परीक्षा गर्न सकिने ठहर भएपछि स्थगित परीक्षा ३१ जेठबाट गर्न लागिएको बताए । २९ वैशाखमा ठूलो पराकम्पनपरीक्षा स्थगित गरिएको थियो । उनले क्याम्पसको अवस्था हेरेर परीक्षा केन्द्र तोकिने जानकारी दिए । ‘सुरक्षित क्याम्पसलाई मात्र परीक्षा केन्द्र बनाइनेछ,’ उनले भने, ‘त्यसैले यस वर्ष धेरै केन्द्र हुनेछन् ।’ यसअघि एउटा केन्द्रमा एक हजार पाँच सयसम्म विद्यार्थी हुनेमा यसपटक पाँच सय विद्यार्थी राखेर परीक्षा सञ्चालन गरिने भएको छ । उनले भरसक विद्यार्थीलाई भुइँतला र पहिलो तलामा राखेर परीक्षा सञ्चालन गरिने बताए ।
१४ जेठका लागि तय गरेको स्नातक तेस्रो वर्षका सबै संकायका परीक्षा र सोही दिनदेखि सुरु हुने प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा स्थगित गरिएको थियो । १६ वैशाखदेखि तय भएको तीनवर्षे एलएलएम दोस्रो वर्षको परीक्षा, २२ वैशाखदेखि सुरु हुने गरी तय भएको बिए, एलएलबी पाँचौँ वर्षको परीक्षा र २५ वैशाखदेखि हुनेगरी तय भएको काउन्सिलिङ साइकोलोजीको परीक्षा स्थगित गरेको थियो ।

प्रतिक्रिया