प्राविधिक टोलीद्वारा विद्यालय निरीक्षण

पोखरा, १० जेठ । नेपालमा गएको महाभूकम्प र त्यसपछिका पराकम्पनबाट त्रसित हुन पुगेका जनमानस मा यतिबेला आफ्ना बालबालिका विद्यालय पठाउन हिच्किचाउन थालेका छन् । विद्यालय पठाउन उनीहरूले विद्यालय भवनको अवस्थाबारे चासोसमेत लिन थालेका छन् ।

भूकम्प आइहाले विद्यालयमा पठाएको आफ्ना छोराछोरीको अवस्था के हुने बारेको चासो पोखरा बजारलगायत आसपासका भेगमा रहेका अभिभावकको छ । वैशाख १२ र २९ गतेको भूकम्पका कारण यस क्षेत्रका ग्रामीण भेगमा रहेका विद्यालयबाहेक पोखरा बजार क्षेत्रमा रहेका केही विद्यालयको कक्षा कोठाको अवस्थासमेत सोचनीय देखिएको विज्ञ बताउँछन् ।
विद्यालयको अवस्था बाहिरबाट हेर्दा त्यस्तो केही नदेखिए पनि भित्तामा चिरा देखिनु सामान्य भएको र केही विद्यालयका बिम र पिलरमा समेत चिरा देखिएको छ । मापदण्डविपरीत बनाइएका केही निजी विद्यालयमा सञ्चालकको चिन्ता बढ्न थालेको छ । केही निजी विद्यालयका भवन ६ तलासम्मका छन् । कुन निकायले निर्माण गर्न अनुमति दियो यति बेला चासोको विषय बनेको छ । ती विद्यालयमा अभिभावकले आफ्ना छोराछोरी चौरमा अस्थायी टेन्ट लगाएर पढाउन सञ्चालकलाई दबाब दिएको स्वयं विद्यालय सञ्चालक बताउँछन् ।
‘निजी विद्यालयको भौतिक वनावटका कारण महँगो फिस तिरेर विद्यालय पठाइयो तर अब त्यस्ता भवनमा पढाउन नहुने’ धारणा राख्छन एक अभिभावक । त्यसैगरी, समुदायिक विद्यालयको अवस्थासमेत त्यस्तै छ । समुदायिक विद्यालयको निर्माणमा हुने अनियमितताका कारण हालै निर्माण सम्पन्न भएका विद्यालयमा समेत भूकम्पले थप जोखिम बनाएको त छ नै निर्माण गर्दा ध्यान दिनुपर्ने डिजाइन, माटोको परीक्षणलगायत विषयमा चासोसमेत नदेखिएको स्ट्रक्चरल इन्जिनियर यम थापा बताउँछन् । ‘कास्कीमा निर्माण हुने र बनाइएका सामुदायिक विद्यालयको डिजाइन मन्त्रालयमा बसेर गरिन्छ, न त माटो परीक्षण हुन्छ न त ठेकेदारले गरेको कामबारे चासो नै दिन्छ, जसका कारण लाखाँै खर्च गरेर बनाइएका सरकारी विद्यालयको अवस्थामा समेत भूकम्पका कारण जोखिममा परेका छन् ।’ ‘यसमा कसैको जवाफदेहिता भएको देखिदैन । भूकम्पले जोखिममा पारेका विद्यालयको मर्मत, सम्भार यथाशीघ्र गरिनुपर्ने’ कुरामा उनी जोड दिन्छन् ।
पोखरा सिमलचौरस्थित पोखरा इन्जिनियरिङ कलेजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीन दिनमा निजी तथा सामुदायिक २० विद्यालयमा निरीक्षण सम्पन्न गरेको छ । कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङकाअनुसार यो कार्यक्रम विशेष गरी निजी विद्यालयलाई लक्षित गरिए पनि निजीले भन्दा सामुदायिक विद्यालयले निरीक्षण तथा सुझावका लागि माग भएको बताउँछन् । निजी विद्यालयको छाता संस्था प्याब्सन र एन प्याब्सनको आग्रहमा निरीक्षण गरिएको भए पनि अधिकांश निजी विद्यालय निरीक्षणका लागि चासो नदिएको उनको भनाइ छ । यो अभियान थप केही दिन जारी रहने उनले बताए । पोखरा इन्जिनियरिङ कलेजको प्राविधिक र चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको टोलीले निरीक्षण गर्ने जानकारी दिए ।
जोखिममा रहेका विद्यालयको यथाशीघ्र रेट्रो फिटिङ वा अन्य प्रविधिले मर्मत गर्नुपर्ने कुरामा इन्जिनियर खुसीमान गुरुङ जोड दिन्छन् । ‘धेरै बालबालिकाको भविष्यसँग गाँसिएको विद्यालय सबै र सधैँका लागि सुरक्षित हुनुपर्छ ।’ धेरै विद्यालयमा निर्माणको क्रममा छडको प्रयोग, सिमेन्ट र बालुवाको प्रयोगमा समेत कमजोरी देखिएको छ । अनावश्यक बाहिरी भाग प्लास्टर गरी पिलर र बिमलाई ठूलो देखाइएकाले पनि १२ र २९ गतेको भूकम्पको झटकाले बिम र पिलरमा चिरा परेको इन्जिनियर थापाको भनाइ छ । ‘कपालको रांै जस्तो चिरा पर्दैमा डराउनुपर्ने अवस्था त होइन तर यसको मर्मत, सम्भार समयमा हुन नसकेमा दुर्घटना हुन सक्छ’ उनी भन्छन् । उनका अनुसार अधिकांश विद्यालयका भित्तामा चिरा देखिएको छ । बिम र पिलर जस्तो भित्तामा चिरा पर्नु डराउनुपर्ने विषय होइन तर ठूलो चिरा छ भने भत्काउनुपर्ने हुन्छ ।
निरीक्षणका क्रममा धेरै विद्यालयले ग्रिन स्टिकर टाँसी दिन आग्रह गरेको प्रशासन प्रमुख गुरुङ बताउँछन् । तर, पोखरामा यसको कुनै व्यवस्था राज्यले गरेको पाइएको छैन ।

प्रतिक्रिया