पेरिस । फ्रान्सको कान्समा वर्षेनि हुने ‘कान्स फिल्म फेस्टिबल’ त्यहाँ हुने फिल्मको प्रदर्शनभन्दा पनि रेडकार्पेट र सेलिब्रेटीको स्टाइलिस्ट प्रस्तुतिका लागि चर्चित छ । हरेक वर्ष हुने त्यहाँको फेस्टिबलमा यसपटक सहभागिता जनाउन पुगेकी हलिउड फिल्म निर्मात्री वेलेरिया रिक्टरलाई रेडकार्पेटमा हिँड्न नै आयोजकले रोक लगाए । त्यसको कारण थियो, उनले लगाएको चप्पल ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अभिनेत्रीसमेत रहेकी वेलेरियाको बायाँ खुट्टा फ्याक्चर भएपछि उनले कृत्रिम किसिमको चप्पल लगाएर रेडकार्पेटमा पुगेकी थिइन् । खुट्टाकै कारण ठूलो हिल स्यान्डल लगाउन नपाएपछि उनी रेडकार्पेटमा हिँड्नबाट वञ्चित भएकी हुन् ।
‘हुँदैन, हुँदैन, यस्तो शैलीमा रेडकार्पेटमा प्रवेश गर्न पाइँदैन,’ आयोजकको भनाइ उद्धृत गर्दै उनले भनेकी छन्, ‘कृत्रिम खुट्टा लगाएका कारण मैले ठूलो हिल भएको स्यान्डल लगाउन मिल्दैन, त्यो लगाउँदा हिँडाइको सन्तुलन बिग्रन्छ ।’ तर, उनको समस्या बुझेपछि आयोजकले रेडकार्पेटमा हिँड्न दिएका थिए । ‘तर, जो महिला कान्समा फ्ल्यान्ड किसिमको चप्पल वा सरल किसिमको चप्पलमा पुग्छन्, उनीहरूलाई रेड कार्पेटमा हिँड्न दिँदैनन् । उनीहरूलाई अर्कै बाटोबाट पठाउँछन् ।’ रिक्टरले आफूलाई आयोजकले चारपटक फेस्टिबलमा रोक लगाउन खोजेको खुलाइन् ।
तर, फेस्टिबल आयोजकले महिला सेलिब्रेटीको ड्रेस कोडका रूपमा हिल स्यान्डल रहेकाले त्योबाहेक अन्य स्यान्डललाई रेडकार्पेटमा प्रवेश गर्न नदिइएको जनाएको छ । आयोजकका तर्फबाट फेस्टिबलका एक प्रवक्ताले अब सामान्य सेन्डल लगाएर आउने महिलालाई पनि रेडकार्पेटमा प्रवेश गर्ने व्यवस्था गरिएको बताएका छन् ।
फेस्टिबलमा प्रदर्शन गरिएको डकुमेन्ट्री ‘एमी वाइन हाउस’ का निर्माता आसिफ कपाडियाले आफ्नी श्रीमती पनि हिल स्यान्डल नलगाएकै कारण रेडकार्पेटमा हिँड्न वञ्चित भए पनि पछि आयोजकसँग अनुरोध गरिएपछि बाटो खुला गरिएको बताए ।
यसैबीच बलिउडकी चर्चित अभिनेत्री शबना आजमीले कान्समा ठूलो हिल लगाउने महिलालाई मात्र रेडकार्पेटमा हिँड्न दिने निर्णयको विरोध गरेकी छन् ।
फेस्टिबलमा जुरीकोसमेत भूमिका निर्वाह गरेकी शबानाले चौडा किसिमको स्यान्डल लगाएर कान्समा आउने महिलालाई रोक लगाउनु दुःखद रहेको जनाएकी हुन् । ‘कान्सको रेडकार्पेटमा विनाहिलको चप्पलमा प्रतिबन्ध लगाउनु आश्चर्यजनक कुरा हो,’ उनले ट्विटेकी छन् । (एजेन्सी)
प्रतिक्रिया