काठमाडौं । भूकम्पको पीडामा परेका ललितकलासँग सम्बद्ध कलाकारहरूको सहयोगार्थ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले पाँच लाख रुपैयाँ राशीको राहत कोष खडा गरेको छ । प्रतिष्ठानले घरको क्षति, कलाकारको मृत्यु र घाइतेहरूको सहयोगका लागि उक्त राशीको कोष खडा गरेको
जनाएको छ ।
प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय ग्रेलाले भूकम्पपीडित कलाकारको सहयोगका लागि प्रतिष्ठान चिन्तित रहेको बताइन् । ‘निकै लामो समयपश्चात् हामीहरू अहिले मिडियामाझ आएका छौँ, भूकम्पपछि हामीले प्रतिष्ठानमा रहेका आफ्ना सामग्रीहरूलाई सुरक्षा गर्न र क्षति कम गराउनका लागि ती सामग्रीको उद्धारमा व्यस्त भयौँ,’ कुलपति रागिनीले प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भनिन्, ‘हामी र हाम्रा कलाकारहरू भूकम्पका कारण पीडित बनेका छौँ, त्यसकारण प्रतिष्ठानले कोषको स्थापना गरेका हौँ ।’ रागिनीका अनुसार प्रधामन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रतिष्ठानका कर्मचारीहरूका तर्फबाट ३ लाख १ हजार रुपैयाँ जम्मा गरिएको छ ।
प्रतिष्ठानका सदस्यसचिव नवराज भट्टले कोषमा थप रकम जम्मा गर्नका लागि प्रतिष्ठानले आयोजना गर्ने विविध चित्रकला प्रदर्शनीबाट उठेको रकममध्येको ५० प्रतिशत जम्मा गरिनेछ । ‘हामी एक वर्षसम्म प्रदर्शनी गरिरहनेछौँ, जुन प्रदर्शनीमा राखिएका चित्रहरूको बिक्रीबाट प्राप्त कुल रकमको आधा कोषमा जम्मा गर्नेछौँ,’ सदस्यसचिव भट्टले भने, ‘योबाहेक अन्य संघसंस्थाहरूसँग सहयोगका लागि पनि पहल भइरहेको छ ।’ उनका अनुसार प्रतिष्ठानले एक वर्षका लागि कला प्रदर्शनीलाई नै प्राथमिकतामा राखेको छ । राजधानीको नक्सालस्थित बालमन्दिरसँगै रहेको प्रतिष्ठानको भवन भूकम्पका कारण क्षतिग्रस्त भएको छ । प्रतिष्ठानका अनुसार कार्यालयभित्र रहेका प्रायः सम्पूर्ण सामान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सेनाको सहयोगमा बाहिर निकालिएको छ । ‘अब मुख्यतया तीनवटा कोठाको सामान बाहिर निकाल्न बाँकी छ, त्यो काम पनि चाँडै हुनेछ,’ कुलपति रागिनीले खुलाइन्, ‘प्रतिष्ठानमा राष्ट्रिय ललितकला प्रदर्शनी भइरहेको समयमा भूकम्प गएकाले केही थाङ्काका चित्र र मूर्तिकलाका सामग्रीमा क्षति पुगेको छ ।’
हाल प्रतिष्ठानको मुख्य भवन अगाडिको मूर्तिकला, चित्रकला र गाडी राख्ने ग्यारेजमा राखेर कार्यालय सञ्चालन गरिरहेको प्रतिष्ठानले पुनर्निर्माणपछि पनि अहिलेकै भवनमा बस्न चाहेको छ । ‘यो भवनको ऐतिहासिक महत्व छ, राणाकालीन ग्रिक शैलीमा यो दरबार बनेको छ, यो भवनको पश्चिम र दक्षिणी भूभाग पुरातात्विक हिसाबले पनि महत्वपूर्ण छ,’ सदस्यसचिव भट्टले अगाडि भने, ‘हाम्रा लागि यो भवनमा बसेर काम गर्नु आफँमा ऐतिहासिक काम हो, यो भवन भोलि पाउँछ या पाउँदैन भन्ने ग्यारेन्टी छैन, त्यसकारण पनि हामी यसलाई गुमाउन चाहँदैनौँ ।’
प्रतिष्ठानले कला प्रदर्शनीमा पुरस्कृत कलाकृतिलाई बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनका लागि राख्ने योजना बनाएको छ । प्रतिष्ठानले ‘आर्ट टु रिब्युल्ट नेपाल’ नारा दिएर भूकम्पबाट मानसिक रूपमा असर परेका बालबालिकाहरूलाई मनोवैज्ञानिक किसिमले उपचार गरेर पहिलेकै अवस्थामा ल्याउनका लागि बालबालिकासँग सम्बन्धित कार्यक्रम पनि गर्ने भएको छ । ‘प्राज्ञहरूलाई काम गर्ने वातावरण सहज बनोस् भन्नका लागि अस्थायी टहरो बनाएर उहाँहरूलाई त्यहीँ बसेर केही समयका लागि काम गर्न दिन्छौँ,’ कुलपति रागिनीले भनिन् ।
प्रतिक्रिया