मुम्बई । अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पीकू’ ले उनका पूर्वप्रेमी रणवीर कपुर अभिनित फिल्म ‘बाम्बे बेल्बेट’ लाई बक्स अफिसमा पछाडि धकेलिदिएको छ । बक्स अफिसमा असफल सावित भएको अनुराग कश्यप निर्देशित फिल्म ‘बाम्बे बेल्बेट’ लाई फिल्मका व्यापार विश्लेषकले ‘महा फ्लप’, ‘पिटी हुई’ र ‘महाविपदा’ जस्ता शब्द प्रयोग गरी आलोचना गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार गत मे १५ मा रिलिज भएको यो फिल्मले आफ्नो सुरुवाती सप्ताहन्तमा १६ करोड बढी मात्र कमाइ गरेको थियो । फिल्म व्यापार विश्लेषक कोमल नाहटाले ‘बाम्बे बेल्बेट’ ले सप्ताहन्तमा १६.२५ करोड कमाउनु दुःखदायी भएको बताए । ‘सप्ताहन्तको अलावा यति नै रकम एक दिनमा कमाएको भए केही राम्रो हुने थियो,’ उनले भने । अर्का विश्लेषक विनोद मिरानीले फिल्म ‘बाम्बे वेल्वेट’ लाई अनर्थ भएको बताए ।
यता सुजित सरकारले निर्देशन गरेको फिल्म ‘पीकू’ ले फिल्म हलमा सफलताको व्यापार गरिरहेको छ । यसले दोस्रो सप्ताहन्तमा १४.६० करोड रुपैयाँ कमाएको छ । यसले अहिलेसम्म ५६.०२ करोड कमाइ गरिसकेको छ । पहिलो सप्ताहन्तमा यो फिल्मले २५ करोडभन्दा बढी रुपैयाँ कमाइ
गरेको थियो ।
फिल्म व्यापार विश्लेषक तरुण आदर्शले ‘पीकू’ लाई वर्ष २०१५ मा विदेशमा सबैभन्दा हिट फिल्मको संज्ञा दिएका छन् । (एजेन्सी)
प्रतिक्रिया