बेरोजगार बनेपछि आत्महत्या

Shikhaमुम्बई । बलिउड अभिनेत्री शिखा जोशीले यहाँको वरसोवा इलाकामा रहेको एक निजी फ्ल्याटमा आत्महत्या गरेकी छन् । ४० वर्षीया अभिनेत्रीले सन् २०१२ मा ‘बीए पास’ मा छोटो भूमिकामा अभिनय गरेकी थिइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा कुनै सुसाइड नोट नभेटिए पनि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शिखा महादाको राजयोग सोसाइटीमा भाडामा रहेको फ्ल्याटमा अर्को एक महिलाका साथमा बस्थिन् । प्रहरीले जोशीसँगै बस्ने महिलाले कार्यालयबाट आएर ढोका ढक्ढक्याउँदा नखुलेपछि आफूसँग रहेको चाबीले ढोका खोलेकी थिइन् । ढोका खुल्दा शिखा रक्ताम्य अवस्थामा थिइन् । उनले घाँटीमा चक्कु खोपेकी थिइन् ।
उनकी साथीले तुरुन्तै कोकिलाबेन अम्बानी अस्पतालमा लगे पनि चिकित्सकले त्यहाँ मृत घोषणा गरेका थिए । ती साथीका अनुसार शिखा केही समयदेखि बेरोजगार थिइन् । प्रहरीले दिल्लीमा रहेकी उनकी १९ वर्षीया छोरीलाई खबर गरिसकेको छ । कामको अभावका कारण उनलाई डिप्रेसन भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
सन् २०११ मा ब्रेस्ट इन्प्लान्ट सर्जरी गरेकी उनले उक्त सर्जरी गर्ने डाक्टरमाथि नै यौन उत्पीडनको आरोप लगाएपछि शिखा विवादमा तानिएकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया