विद्यालय सञ्चालन गर्न जोड

काठमाडौं, २८ वैशाख । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले भूकम्प प्रभावित जिल्लामा अस्थायी पूर्वाधारको व्यवस्था गरेर आगामी जेठ १ गतेदेखि विद्यालयको पठनपाठन सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

भूकम्पबाट शिक्षा क्षेत्रमा भएको क्षति र यसबीचमा सरकारले गरेका कामबारे जानकारी लिन आइतबार शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित, शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमाललगायत अधिकारीसँगको छलफलपछि समितिका सभापति रञ्जुकुमारी झाले भत्किएका विद्यालयमा विद्यार्थी बसेर पढ्न नसक्ने भएकाले वैकल्पिक टहराको प्रबन्ध गरेर मात्रै कक्षा सञ्चालन हुनुपर्ने बताइन् ।
उनले विद्यार्थीलाई मनोसामाजिक विमर्श प्रदान गर्न, विद्यालयको पाठ्यक्रममा प्राकृतिक प्रकोपसम्बन्धी विषय समावेश गर्न, शिक्षाका दातृनिकायसँग भइरहेका सहकार्यबारे समितिलाई जानकारी गराउन पनि आग्रह गरिन् ।
मन्त्रालयका सचिव पण्डितले संकटग्रस्त घोषित १४ जिल्लामा जेठ १ गतेबाट पढाइ सञ्चालनको निर्णय भइसकेकाले तत्काल टहरा बन्न नसकेको अवस्थामा पनि रुखमुनि वा चौरमा राखेर भए पनि कक्षा सञ्चालन गर्ने जानकारी दिए । उनले हालसम्मको विवरणमा करिब १६ हजार विद्यालय भवन प्रभावित भएको, ३२ शिक्षक र दुई सय २५ विद्यार्थीको मृत्यु भएको जानकारी दिए ।
मन्त्रालयले प्रारम्भिक, अल्पकालीन र दीर्घकालीन रूपमा विद्यालयको संरचना बनाउने योजना रहेको र सो सम्बन्धमा अर्थ मन्त्रालय र दातृनिकायसँग परामर्श जारी रहेको बताए ।
सांसदहरूले विद्यालयमा प्राविधिक मूल्यांकन सुरक्षित स्टिकर टाँसेर मात्रै कक्षा सञ्चालन गर्न, शैक्षिक क्यालेन्डर समायोजन गर्न, स्थगित कक्षा ११ र १२ को परीक्षा चाँडो तोक्न सुझाव दिए ।
यसरी सुझाव दिनेमा सांसदहरू लक्ष्मण राजवंशी, रामहरि सुवेदी, डा. वंशीधर मिश्र, डा. गणेशमान गुरुङ, निशाकुमारी शाह, श्रीमाया थकाली, उमेश श्रेष्ठ, रत्ना (मधु) गुरुङ, रुक्मिणी चौधरी, यशोदा लामा, सिन्धु जलेसालगायत थिए ।

प्रतिक्रिया