इलाम, २४ वैशाख । कारखानाबाट चियाको उचित मूल्य नपाएपछि किसानले आफ्नै लगानीमा हाते ड्रायर खरिद गरी चिया प्रशोधन गर्न थालेका छन् । हरियो चियापत्ती सुकाउने ड्रायर खरिद गरेर किसानले सामूहिक रूपमा चिया प्रशोधन गरेर चिया उत्पादन सुरु गरेका हुन् ।
केही किसानले घाममा सुकाएरसमेत हाते चिया बनाउने गरेका छन् । जिल्लाको साँखेजुङ, बरबोटे, माइपोखरी, फाकफोक गाविस र सूर्योदय नगरपालिका किसानले हाते चिया उत्पादन गर्न थालेका हुन् । चिया कारखानाले अति न्यून मूल्यमा हरियोपत्ती खरिद गर्न थालेपछि १२ देखि १८ जनाको समूह बनाएर किसानले आपै चिया प्रशोधन गर्दै आएका छन् । यसरी उत्पादित चिया प्रतिकिलो दुई सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको छ ।
इलाममा हाल एक दर्जनभन्दा बढी यस्ता प्रशोधन केन्द्र सञ्चालनमा छन् । हाते चिया स्थानीय बजारमा खपत भए पनि यसको मुख्य बजार भने काठमाडौं हो । साँखेजुङका तीन वटा घरेलु प्रशोधन केन्द्रबाट उत्पादित हाते चिया गत वर्ष थोरै परिमाणमा युरोपका विभिन्न मुलुकमा समेत निकासी भएको ‘दाहाल बन्धु’ हाते चिया उद्योगका मोतीराम दाहालले सौर्यलाई बताए ।
यस्ता घरेलु प्रशोधन केन्द्रले दैनिक एक सयदेखि पाँच सय किलोसम्म हरियोपत्ती प्रशोधन गर्ने गरेका छन् । अहिले ३० देखि ४० रुपैयाँ प्रतिकिलोका दरले हरियो चियापत्तीको मूल्य कारखानाले दिन थालेका छन् । आपैले घरेलु हाते चिया उत्पादन गर्दा यो भन्दा बढी फाइदा हुने पाथीभरा चिया उत्पादक समूहका नवराज दाहाल बताउँछन् । हाते चिया उत्पादनमा आकर्षण बढ्दै गएकाले बजार विस्तारका लागि सरकारले सहयोग गर्नुपर्ने किसानहरूको माग छ ।
प्रतिक्रिया