काठमाडौं, २४ वैशाख । ‘भुइँचालो आयो, पतिलाई भागौँ भनेँ तर आफैँलाई उद्धार गर्न पति आउनुपर्यो,’ १२ वैशाखको भूकम्प सम्झँदै सिन्धुपाल्चोक फटकशीलाकी काली दनुवार भन्छिन्, ‘बाख्रोको पाठो निकाल्न जाँदा आफैँ पो घर भत्किएर पुरिएछु ।’
भूकम्प आएपछि आँगनबाट पति रामलाल दनुवारलाई ‘भाग–भाग’ भन्दै बारीतिर दौडिएकी कालीलाई घरभित्र भएको पाठोको मायाले यो हविगत बनायो ।
पति भागेपछि काली पनि भाग्नुपर्छ भन्नेमै थिइन् । सुनाइन्, ‘बाख्राको पाठो घरभित्र गइरहेको देखेर लिन खोज्दा घर हल्लियो र गर्लम्म लड्यो अनि घाइते भएँ ।’ घर ढलेपछि उनी पाठोसँगै पुरिइन् । भागेर जोगिएका पति रामलाल फर्किएर कालीलाई निकाल्ने प्रयासमा लागे । एक घन्टामा कालीको जीवितै उद्धार भयो तर तर बाख्राको पाठो मरिसकेको थियो । त्यही दिन काठमाडौं अस्पताल भर्नापछि कालीले दुवै खुट्टाका गेडी खुस्केको र एउटा खुट्टा भाँच्चिएको थाहा पाएकी हुन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
भाग्दा दुर्घटना
सप्तरीका विक्रमकुमार ठाकुर भूकम्प आउँदा शान्तिनगरस्थित सैलुनमा कपाल काटिरहेका थिए । शनिबार परेकाले उनको पसलमा भिडभाड थियो । एक्कासि भूकम्पको धक्का महसुस भएपछि पसलका ग्राहक भाग्नुअघि नै उनी दौडिए । दौडने क्रममा पसलमा आएका अन्य दुई पनि उनीसँगै रहेछन् ।
अलि अगाडि पुगेका उनीहरू घरको कम्पाउन्ड वाल भत्किएपछि दुर्घटनामा परे । सँगै आएका एक साथी पुरिए, अर्को साथीको एउटा खुट्टा किच्चिएपछि निकाल्न खोज्दा मासु र हड्डी नै छुट्टियो । उनका पनि दुवै खुट्टा छोपिएकाले त्यहीँ लडे । धेरैबेरपछि नजिककाले आएर निकाले, पुरिएका साथीको मृत्यु भइसकेको थियो भने ठाकुरका दुवै खुट्टा भाँच्चिए ।
उनी शश्या अभावको समस्याले सिभिल अस्पलतलको प्रसूति वार्डमा हाडजोर्नीको उपचार गराइरहेका छन् । तर, उनले छाडेर भागेको पसल र घरमा केही पनि भएको छैन ।
फालहान्दा झन्डै गयो ज्यान
ललितपुर झरुवारासीका लब केसी भूकम्प आउँदा घरको छतमा बसिरहेका थिए । घरभित्र रहेकी पत्नी दौडँदै घर बाहिर निस्किन् । उनलाई घर लड्छ भनेर खपिनसक्नु डर लाग्यो । घरबाट झरेर बाहिरसम्म पुग्न भ्याउँछु भन्ने आत्मविश्वास पनि भएन । त्यसैले, उनी घरको छतबाट हामफाले ।
भूकम्पले उनको घर त बिगारेन । तर, उनको ज्यान नराम्ररी बिग्रियो । शरीरमा नदुख्ने कुनै ठाउँ छैन । दायाँ खुट्टा भाँच्चिएको छ । सिभिल अस्पतालमा शश्या अभावले प्रसूति वार्डमै उपचार गराइरहेका छन् ।
भाग्न नभ्याउदा दुर्घटना
थानकोटकी १९ वर्षीया दिव्या वाग्ले भुइँचालो आएका बखत घरमा कक्षा १२ को परीक्षाका लागि तयारी गरिरहेकी थिइन् । एक्कासि घर हल्लिन थालेपछि उनलाई भुइँचालो आएको महसुससँगै डर लाग्यो । उठेर बाहिर निस्कन लाग्दा बाहिर घर लडेर झर्न थालेको देखिन् । जस्केलाबाट निस्कन लाग्दा त्यही घरले किच्यो ।
पत्कर लिन जंगल गएकी आमा पवित्रा घरनजिकै आएकी रहिछन् । घर लडेको देखेसँगै उनलाई छोरी परी भन्ने लागिहोल्यो । जोगाउन चाँडो दैडिनुप¥यो भन्दा खुट्टा लर्बरिए । दौडनै सकिनन्, उनलाई भारी छोडेर अउनुपर्छ भन्ने ज्ञान पनि त्यसबेला भएन । उनले भारी बिसाउँदा छोरीले जस्ता बाहिर हात निकालेको देखिन् । रुँदैकराउँदै छोरी निकालिन् । निकाल्दा छोरी बेहोस थिइन् । बेहोस छोरी निकालेपछि उनले देउरानीको घर पनि लडेको देखिन् ।
त्यसबेलासम्म वर्तिरपर्तिरबाट पनि छिमेकी आए, सबैले भएर निकाल्दा देउरानी बेहोस थिइन् । तर, उनकी ६ महिनाकी छोरी केही नभएको अवस्थामा सकुशल फेला परिन् । सुरुमा सबैलाई आर्मी अस्पताल छाउनी लगियो । छाउनीमा एक्सरे गर्ने ल्याब भएको घर चर्किएको रहेछ । दिव्यालाई खुट्टा भाँच्चिएको छ भनेर त्यहाँ अस्थायी प्लास्टर गरियो । पछि सिभिलमा आएर एक्सरे हेर्दा उनको हड्डी फुटेको रहेछ । त्यसपछि अप्रेसन गरेर अस्पतालमै राखिएको छ ।
प्रतिक्रिया