काठमाडौं । ‘लाखे’ र ‘नाइन्टिन फुन्टिन’ जस्ता थेगोले चर्चित बनेका कमेडियन विल्सनविक्रम राई ‘तक्मे बुढा’ साता अघिदेखि दर्शकलाई हँसाउन छाडेर भूकम्प पीडितको सहयोगार्थ दिनरात खटिएका छन् । हाल झापामा रहेका उनले झापासँग सीमाना जोडिएको भारतीय सीमावर्ती पानीट्यांकीमा पुगी त्रिपाल किनेर राजधानी पठाएका छन् ।
‘नेपालमा त्रिपाल कम गुणस्तरको र मूल्यका हिसाबले पनि महंगो छ,’विल्सनले भने,‘झापामा पनि राम्रो खालको त्रिपालको अभाव भए पछि म र मेरो काका (केदार घिमिरे ‘माग्ने बुढा’) मिलेर पानीट्यांकीबाट त्रिपाल किनेर भूकम्प पीडित क्षेत्रमा पठाइरहेका छौँ ।’ उनले शनिबार काठमाडौंका लागि ५० थान त्रिपाल पठाए ।
विल्सनका अनुसार गुणस्तर र मूल्यको हिसाबले पनि भारतीय त्रिपाल राम्रो छ । ‘भारतमा त्रिपाल ६ सय भारुमा पाइन्छ, तर त्यही त्रिपाल नेपालमा किन्दा ३२ सय देखि ४ हजार रुपैयाँसम्म पर्छ,’ उनले खुलाए, ‘गुणस्तरको हिसाबले पनि भारतीय त्रिपाल निकै बलिया हुन्छन्, त्यसकारण पनि यताको त्रिपालले राम्रो काम गर्छ ।’ विल्सन आइतबार आपैmँ त्रिपाल लिएर नुवाकोट जाँदैछन् ।
देशदेखि विदेशका कार्यक्रममा व्यस्त रहने विल्सनले क्यानडामा हुन लागेको आफ्नो ‘एकल शो’ हाललाई रद्ध गरेका छन् । ‘देशमा यत्रो विपत्ति भइरहँदा म कोही नेपालीलाई हँसाउन सक्दिनँ, त्यसकारण त्यहाँको ‘शो’लाई रद्ध गरेर एक महिना पछि टोरन्टोमा फन्डका लागि निःशुल्क शो गर्दै छु ।’ उनले प्रष्ट्याए । झापाका स्थानीय व्यापारीले निकै सहयोग गरेको बताउने विल्सनले सौर्य एयरलाइन्समार्फत त्रिपाल राजधानी पठाइरहेका छन् । (सौस)
प्रतिक्रिया