भूकम्पले पूर्वका आठ सय विद्यालयमा क्षति

धनकुटा, २० वैशाख । गत शनिबार गएको विनाशकारी महाभूकम्प र त्यसपछि पटक–पटक आएका पराकम्पबाट पूर्वाञ्चलका ८ सय बढी विद्यालयमा क्षति पुगेको छ । भूकम्पबाट पूर्वका १६ जिल्लाका अधिकांश विद्यालयमा क्षति पुगेको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ ।

क्षेत्रीय शिक्षा निर्देशक माया राईका अनुसार शनिबार सम्मभूकम्पबाट पूर्वाञ्चलका एक सय ४५ भन्दा बढी विद्यालय पूर्णरूपमा भत्किएको जानकारी प्राप्त भएको छ । त्यस्तै ५ सय ७३ विद्यालयमा आंशिक क्षति पुगेको छ भने ७९ विद्यालयको बाहिरी पर्खाल र ३ वटा विद्यालयको चर्पी भत्किएको छ । भूकम्पबाट धनकुटाका २ विद्यालय पूर्णरूपमा भत्किएका छन भने २४ विद्यालयमा आंशिक क्षति पुगेको जिल्ला शिक्षाकार्यालयले जनाएको छ । मोरङमा २० विद्यालयमा आंशिक क्षति र ३० विद्यालयका बाहिरी पर्खाल भत्किएका छन् ।
त्यस्तै, ताप्लेजुङमा १३ आंशिक र ११ विद्यालय पूर्ण क्षति, पाँचथरमा १८ आंशिक र ७ पूर्ण क्षति, इलाममा २० आंशिक र १७ पूर्ण क्षति, झापामा ५ आंसिक क्षति र एउटा विद्यालयको पर्खालमा क्षति पुगेको छ । यता संखुवासभामा सबैभन्दा बढी १ सय १६ विद्यालयमा आंशिक क्षति पुगेको छ भने ३६ विद्यालय भत्किएका छन् । त्यस्तै, भोजपुरमा १ सयमा आंशिक र १० पूर्ण क्षति, तेह्रथुममा ३८ आंशिक क्षति र ५ पूर्ण क्षति, सुनसरीमा १४ आंशिक र ३२ विद्यालयको पर्खालमा क्षति, सोलुखुम्बुमा ४६ आंशिक र ४४ विद्यालय पूर्णरूपमा क्षति भएका छन् ।
त्यस्तैगरी, ओखलढुंगामा १५ विद्यालय आंशिक र १० पूर्ण क्षति, खोटाङमा ४० आंशिक र ५ पूर्ण क्षति, उदयपुरमा १ सय आंशिक क्षति, सप्तरीमा १५ विद्यालयका पर्खालमा क्षति र सिराहाका २ विद्यायलमा आंशिक क्षति भएको जानकारी प्राप्त भएको क्षेशिनिले जनाएको छ । भूकम्पबाट विद्यालयमा पुगेको क्षतिको विवरण आउने क्रम जारी रहेकाले क्षतिको विवरण बढ्न सक्ने निर्देशक राईको भनाइ छ ।
भूकम्पका कारण क्षति भएका विद्यालयको संख्या धेरै भएकाले ठूलो संख्यामा विद्यार्थीको पढाइ प्रभावित हुने देखिएको हो । ‘एउटा विद्यालयको भवन क्षति हुँदा औसतमा ३ सय विद्यार्थीको पढाइ प्रभावित हुन्छ ।’ क्षेशिनिका शाखा अधिकृत ईश्वरीप्रसाद ओझाले भने ‘क्षति भएको विद्यालयको अधारमा अनुमान गर्दा पूर्वाञ्चलका २ लाखभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित हुने देखिन्छ ।’
भत्किएका विद्यालय तत्काल बन्न सम्भव नहुने र चर्किएका विद्यालयमा पनि जोखिमका साथ विद्यार्थीले पढ्नुपर्ने अवस्था रहेकाले धेरै विद्यर्थीको पढाइ प्रभावित हुने उनको भनाइ छ । यता क्षेत्रीय शिक्षा निर्देशक राईले भत्किएका विद्यालयका विद्यार्थीलाई तत्कालका लागि वैकल्पिक रूपमा त्रिपालमुनि राखेर भए पनि पढ्ने व्यवस्था मिलाइने बताइन् । उनले भनिन्, ‘केही समयका लागि वैकल्पिक व्यवस्था गरी पढाउने र चाँडै भत्किएका विद्यालय भवन पुनःनिर्माण गरी पहिलेकै अवस्थामा फर्काउने योजनामा छौँ ।’

प्रतिक्रिया