बाँचेकाको भूकम्प अनुभव

banchekaसिन्धुपाल्चोक घुम्थाङ – ३ की ५९ वर्षीया पवित्रा प्रधान गत १२ गते भूकम्प आउँदा चर्चमा प्रार्थना गरिरहेकी थिइन ।

एकक्कासि भूकम्प आएपछि सबै जना भागाभाग गर्न थाले उनी पनि त्यही प्रयासमा लागिन् ।

दुईवटा मात्र ढोकाबाट ६५ जना एकसाथ निस्कन लाग्दा केही निस्किएपछि ढोका नै बन्द भयो ।

दुईतले घरको दोस्रो तलामा रहेका उनीहरू भाग्न नपाउँदा घर लड्न थाल्यो । पवित्राको ढाडमा निदाल प-यो, उनी निस्किने प्रयास गरिरहेकै थिइन्, तल्लो तला पनि लड्यो । उनी निदालको किचाइबाट उम्किएर तल्लो तलामा पुग्दा ढुंगाको राशमुनि परिन् ।

अगाडिका केही ढुंगा तानिन् र छेउमा रहेको एक युवकलाई भनिन्, ‘मलाई बचा अन्तरे ।’ अन्तरेले उनको ढाडमा थुप्रेका ढुंगा हटाइदिए, उनी जुरुक्क उठिन् । दश मिटर जति पर पुगेपछि उभिन खोज्दा उनी उभिनै सकिनन् ।

प्रयास गर्दा गर्दै उनी ढलिन् । ढलेपछि उनी उठ्नै सकिनन् । शुक्रबार काठमाडौंबाट छोरीले पठाएको एम्बुलेन्स चढेर ६ दिनपछि काठमाडौंको सिभिल अस्पताल पुगेपछि मात्र थाहा भयो । उनको त ढाड पहिलै भाँचिएको रहेछ ।

‘गाउँको सबै घर लडिसकेका रहेछन्, घाइते नभएका केही केटाले तिनै लडेका घरका जस्ता हालेर टहरा बनाए’, उनले भनिन्, ‘त्यसैमा पाँच दिन गुजारेर काठमडौं आएपछि मात्र थाहा भयो मेरो ढाड भाँच्चिएको रहेछ । सँगै चर्चमा रहेका अरूको अवस्थाबारे के थाहा छ त ? उनी भन्छिन्, ‘केही भागेर बचेछन्, १७ जनाको त एकै चिहान भयो ।’

चर्च लडेको केहीबेरपछि नै १७ जनाले ज्यान गुमाए, २५ जना घाइते भएर बाँचे । घाइतेको पनि उपचार नहुँदा गम्भीर अवस्था छ । उनी भन्छिन्, ‘घाइतेमध्ये सबैभन्दा पहिले अस्पताल आइपुग्ने म नै हँ ।’ घुम्थाङको अमलडाँडा गाउँमा मात्र उनीसँगै परेर मृत्यु हुने १७ सहित २१ ले ज्यान गुमाएका छन् ।

‘एक परिवारका तीनदेखि पाँच जनासम्म सामूहिक चिहान बनाएर गाडेको भन्ने सुने’ उनी भन्छिन्, ‘चिहान नबनाएर जलाउन घाटमा लानेहरूले पनि दाउरा जुटाउन र जलाउन नसक्दा गाउँ नै प्रदूषित बनेको छ ।’

क्रिस्चियन भएबापत आफूले कुनै सुविधा नपाएको उनले गुनासो गरिन् । काठमडौं आएपछि राहत सामग्रीसँगै ‘बाइबल’ वितरण गरेको भन्ने सुने तर मलाई अहिलेसम्म कोही पनि उपचारमा सहयोग गर्न वा राहत दिन आएका छैनन् । बरु यहाँ अस्पतालमा निःशुल्क उपचार भइरहेको छ र खान चाहेमा जाउलो पनि खै कुन संस्थाले खुवाइ रहेको छ ।

रातभर निद्रा लाग्दैनथ्यो, खाली त्यही दृश्यले झकझकाइरहन्थ्यो । तर, हिजोबाट निद्रा पर्न थालेको छ । अब यही छोरीसँग बस्छु, ठीक नहुँदासम्म फर्कन्न घरतिर ।

प्रतिक्रिया