शैक्षिक संस्था सञ्चालनको तयारी

काठमाडौं, १८ वैशाख । गत शनिबारको भूकम्पका कारण भौतिक सम्पत्ति क्षतिग्रस्त भएसँगै अवरुद्ध पठनपाठन सञ्चालन गर्न शिक्षा मन्त्रालयले आवश्यक काम थालेको छ ।

भूकम्प प्रभावित जिल्लाका करिब ८० प्रतिशत शैक्षिक संस्थाका भौतिक संरचना भत्केकाले तत्काल पठनपाठनको वैकल्पिक व्यवस्था गर्ने तयारी मन्त्रालयले गरेको हो ।

मन्त्रालयका प्रवक्ता हरि लम्सालका अनुसार पूर्ण रुपमा र आंशिक क्षति भएका शैक्षिक संस्थाको विवरण सङ्कलन तथा समस्या समाधानका लागि गत बिहीबारदेखि कार्यदल परिचालन गरेको छ । कार्यदलले काम थालिसकेको जानकारी पनि उनले दिए ।

‘प्राप्त प्रारम्भिक जानकारीअनुसार प्रभावित जिल्लाका ८० प्रतिशत भौतिक संरचना नष्ट भएको छ । ती संरचनाको पुनःनिर्माणका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्ने हुन्छ ।

अहिलेको आवश्यकता पठनपाठन सञ्चालन गर्नु हो’, प्रवक्ता लम्सालले भने ।

आगामी जेठको पहिलो सातादेखि पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिँदै उनले भने, ‘थोरै कक्षा भएका शैक्षिक संस्थामा केही समयका लागि त्रिपाल टाँगेर भए पनि कक्षा सञ्चालन गर्न सकिन्छ । धेरै कक्षा तथा धेरै विद्यार्थी भएका संस्थामा त्यो सम्भव छैन ।’

प्रतिक्रिया