प्रिय सम्पादक,
अब त धैर्यले सीमा नाघ्यो, नबोली भएन । मनका कुरा आफैंले मात्र पचाउन सकिँदो रहेनछ । त्यसैले सार्वजनिक गरेर भन्दैछु र यो कथन नागबेली पनि नलाग्ला किनभने यस्तो यात्रामा मलाई धेरैले उछिनेका छन्, धेरै ढंगबाट । सिधा भन्छु आफ्नै कुरा ।
यो आक्रोश पनि होइन र आक्षेप पनि । यो मात्र संवेग हो । त्यसैले यसमा प्रशस्त ऊर्जा छ । यो खेर नजाओस् भन्छु । तिमीलाई थाहै होला, संवेग नभए अथवा स्पन्दन नभए न प्रेम हुन्छ न झगडा न त युद्ध नै । यदि यी तीनै मार्ग अफाप भए म चौथो मार्ग अँगाल्छु, चौथो आश्रम, वानप्रस्थ । किन्तु सन्यास ग्रहण गर्नु छैन, भोग सकिएको छैन । यतिका परिकार छरिएका छन्, तिनको परिभोग नगरी कसरी सन्यासी हुनु ? प्रचुर अश्वशक्ति परिचालित हुन्छ अझै भोग र सम्भोगमा पलायन लिनु कसरी ? मनै मान्दैन ।
विद्वान्हरू नीति र आदर्शका कुरा गर्छन् । मर्यादा र प्रतिष्ठाका कुरा गर्छन् । स्वघोषित महानता र राजनीतिक असंस्कार धारण गर्ने व्यक्तिहरू भने असल कुरालाई चुरोटको धुवाँमा उडाउँछन्, पानको थुकमा पिच्काउँँछन्, मदिराको नसामा घुमाउँछन् अनि मानव समुदायमा उपहास गरिदिन्छन् । यी अर्धमानवहरू त्याज्य कुरालाई अँगाल्छन् र पतनको गर्तमा डुबेको थाहै पाउँदैनन् । विडम्बनाको ब्यूहभित्र म जस्ता धेरै अज्ञ अल्पज्ञ पेलिएका छन् । म जस्तालाई मुक्त गर्न कोही गान्डीव बोकेर आओस्, कोही पाञ्चजन्य उठाएर आओस्, यो तुमुल संग्रामबाट मैले मोचन पाउनै पर्छ । कुरो दलितको हो, दलित वर्गको ।
‘पख,’ अत्यन्त ओजस्वी मुद्रामा, सम्पादकको सामुन्ने बसेको मान्छेले धैर्य तोडेर भन्यो, ‘हिमशिखरले, हरित पर्वतले, उपत्यका र अधित्काले अनि भोट र सांग्रिलाले टड्कारै आफ्नो परिचय दिइरहेका छन् । अर्काले तिनको परिचय गराउनु पर्दैन । अर्काले परिचय गराउँदा त्यसको नाम गोत्र नै फेरिन सक्छ…. माउन्ट एभरेस्ट जस्तो । त्यसैले तिमी आफैं चिनिने यत्न किन गर्दैनौ ? व्यक्तित्व निर्माण गर, नाराका पछि नलाग । अप्रिय कुरा जालमा फसाएर पेट भर्ने नगर ।’ प्रिय दलित, तिमीलाई यो सम्बोधन प्रिय झैं लाग्ला, तिमीले आफंैले छानेका हौ । ‘दलित नभन, हामी दलित होइनौं र दलित भनाउन चाहँदैनौं’ भनेर कहिल्यै
विमति जनाएनौं ।
म तिमीलाई दलित भन्न र भनाउन चाहन्न र यो शब्द म उच्चारण गर्न पनि चाहन्न र सुन्न पनि सक्दिनँ । मेरो कुरा यत्ति मात्र हो । आफ्नो आवेग बग्न दिएर सम्पादकले भनाइको गेयर बदले र भने, ‘मित्र, तिमी उहाँलाई चिन्दैनौं कि उहाँ पनि महान् योद्धा हुनुहुन्छ । तिमीले प्रोफेसर छविलाल पोख्रेलको नाम सुनेका थियौ कि, यहाँ उहाँ शिष्य हुनुहुन्छ र उहाँको सद्विचारको प्रवक्ता हुनुहुन्छ । तिम्रो गुनासो मैलेभन्दा बढी उहाँले सुन्न आवश्यक छ ।’
‘मैंले उहाँको परिचय पाएको रहेनछु,’ दलित भन्न नसुहाउने त्यो महान्
व्यक्ति बोल्यो ।
‘वैचारकि रूपले उहाँ आचार्य हुनुहुन्छ र संस्कारका दृष्टिले उपाध्याय । समाजको परिस्कारका लागि उहाँ समर्पित हुनुहुन्छ र राजनीतिको थिचोमिचोसँग मल्लयुद्ध गर्न सक्ने समाजको निर्माणमा जुट्नुभएको छ । अहिले उहाँले नागरिक समाजको उन्नयन गर्ने नेतृत्व लिनुभएको छ र तपाईं जस्ता विवेकशील र कर्मठ युवालाई नेतृत्व सुम्पेर उहाँ एकपटक विश्वभ्रमणपछि चौथो आश्रममा प्रवेश गर्ने योजनामा हुनुहुन्छ । आज सुयोग जुटेको छ, उम्कन नदेऊ । मसँगका कुरा हुँदै रहन्छन्, आज उहाँसँगै विचार विनिमय गर भन्ने मेरो आग्रह छ, बाँकी तिमी आफैं सोच । ‘मैले त महाकवि देवकोटाको भनाइलाई आफ्नो मूलमन्त्र बनाएको छु,’ सम्पादकले थप्यो,
‘मनिस ठूलो दिलले हुन्छ
जातले हुँदैन ।’
उपाध्यायज्यू, सम्पादकले भनेका कुरामा मेरो विमति छैन । म आफूलाई दलित बनाएर सानो तुच्छ बनाउन चाहन्नँ, आफूलाई दलित घोषित गरेर कसैका दयाको पात्र पनि हुनु छैन र कसैबाट करुणाको उपकार पनि लिनु छैन । म स्वस्थ छु, निरोगी छु, कर्मयोगी छु । म अनाथ, असहाय अनि बिचरा होइन र कसैलाई त्यस्तो भएको देख्न चाहन्न ।’ सम्पादकतर्फ हेरेर महान् व्यक्तिले थप्यो, ‘मित्र, मेरो स्वाभिमानले र मेरो यात्राले मलाई दलित, पीडित, उपेक्षित र पछौटे हुन दिँदैन ।
तर मेरा साथीहरू संगठनात्मक रूपले पछौटेपनलाई स्थायित्व दिने संकल्पले जुटेका छन् । म यो दलितको लक्ष्मणरेखालाई पूरै मेट्न चाहन्छु, दलितको मन्चलाई भत्काउन चाहन्छु र दलितको कांग्रेस (संघसंगठन) लाई म ध्वस्त पार्न चाहन्छु । म त्यो सीमित घेराभित्र अटाउन सक्दिनँ । मैले त्यसभित्र आफूलाई उभ्याउन पनि छैन । मैले संकल्प लिएर सामाजिक उन्नयन दिशामा अग्रसर हुनु छ । मलाई उपाध्यायजीको विचार ठीक लाग्यो ।’
मित्र, सम्पादक बोल्यो, ‘आवेगमा नआऊ, विवेक र संयम हराएकै कारण आनव असफल हुन्छ । वर्ग विभाजन सामाजिक उत्पादन होइन र ? कुनै बेलाको वर्गीकरण परवर्ती युगमा पनि उत्तिकै मान्य हुन्छ भन्न सकिन्न । र त्यो स्वीकार गर्नैपर्छ भन्ने पनि होइन । त्यसैले म कुनै हालतमा कसैलाई दलित भन्न, दलित मान्न र दलित स्वीकार गर्न सक्दिनँ । किनकि म कसैलाई होच्याउन, तुच्छ ठान्न र बिचरा देख्न सक्दिनँ । तर मेरा मित्रहरू दलितको पगरी गुथेर महभोगको दाउमा लागेका छन्, सोझालाई रणनीतिको मैदान बनाएर आफू इन्द्रपुरीमा बस्ने सपना देखेका छन् । त्यसैले आफ्नो समुदायले आफैंलाई कज्याएको, तुच्छ स्वार्थका लागि आफ्नै मान्छेका पिठ्युँमा चढेको मलाई मन पर्दैन । मेरो कुरा यही हो ।’
उपाध्यायले केही कुरा भन्लान् कि भनेर सम्पादक र आगन्तुक मित्र पर्खंदै रहे । उचित मौका ठानेर उपाध्यायले भने, ‘मित्र, तपाईंहरूभित्रको सानो ठूलो, छुवाछूत र भेदभावको रोग हटाउ, परस्पर प्रेम र सद्भाव बढाउ र पारिवारिक सम्बन्ध कायम गरेर हातेमालो गर्दै हिँड । कौटुम्बिक बन्धन बढाएपछि शक्ति पनि बढ्छ । तिमीमा देखिएको एकता र उदारताले अरूलाई पनि ऊर्जा दिन्छ । तिमी आफंैभित्रका लक्ष्मणरेखा पहिले हटाउ ।’
उपाध्यायले थपे, ‘तिमी मसँग आऊ, म तिमीलाई ब्राह्मण वर्गमा समावेश गर्छु । क्षत्री हुन चाहन्छौ भने म त्यसको पनि व्यवस्था गर्छु । तिमी सोचाइ र व्यवहारमा उठ, द्विज वर्गीय कन्या विवाह गर, त्यसका लागि तत्पर होउ । म तिम्रा साथमा छु । योग्य होउ । भत्ता खान लोभिएका तिम्रा वर्गले तिमीलाई उठ्न दिने छैन, म त्यो पनि देख्दै छु । त्यसैले कठिन साधनाको खाँचो छ । तिम्रो वर्ग उठ्यो भने भत्ताखोरको भत्ता खाने मन्च हराउँछ । त्यो तिम्रो चिन्ताको विषय होइन ।’
‘अँ, बेला–बेला समाजमा सहनै नसकिने दमन र उपेक्षाको लहर आउँछ । यस्तो अवस्थामा नागबेली मार्गबाट आफ्नो रक्षा गर्नु बुद्धिमानी हो । दलित र उपेक्षित वर्गले साधुसन्तको सत्संगबाट प्रशस्त फाइदा लिएका छन् । उपेक्षा र उत्पीडनका कारण कयौं जाति अर्को जातिमा वा अर्को समुदायमा
परिणत भएका छन् । सन्यासी समुदायमा दीक्षित भए र फेरि गृहस्थी जीवनमा फर्केर सामाजिक पारिवारिक उन्नयनको दिशामा प्रशस्त योगदान गर्न थाले । वास्तवमा सन्यासी समुदाय त्यस्तो सागर हो जसमा धेरै किसिमका जन्तु र मूल्यवान् कुराहरू भेटिन्छन् । ‘दण्डी’ स्वामीबाहेक सबैलाई सन्यासी समुदायमा समावेश भएर आफ्नो यथार्थ त्याग्न विधिवत् स्वागत छ । वर्ग विभाजन त त्यहाँ पनि छ, कुन स्रोत वा कुन वर्ग वा कुन गोत्र र परिवारबाट निर्माण भएको सन्यासी हो ? यस्ता प्रश्नहरू उनीहरूभित्रै उठ्छन्, हराउँछन्, गैरसन्यासीलाई त्यो कुरा थाहा हुँदैन र आवश्यक पनि छैन । किन्तु त्यहाँ पनि ‘दण्डी’ सम्प्रदायलाई अकलुषित राख्ने यत्न रहन्छ ।
थपे, ‘त्यसैले मेरो अनुरोध छ, थुपै्र गैरतागाधारीहरू समाजमा सम्मानित छन् । आफ्नै व्यवहार, संकल्प र यात्राले अविस्मरणीय भएका छन् । इतिहासका पृष्ठभरि तिनीहरू छाएका छन् । उठ, तिमी पनि काँचुली फेर, आफूलाई आफैंले दलित घोषित नगर, आफ्नै वर्गलाई दलितको लक्ष्मणरेखाभित्र थुनेर शताब्दी शताब्दी दलित र पछौटे नबनाउ । तिमीलाई उठाउन अरूले दलित भनिनु आवश्यक छैन । दलित भएर चिनिनुपर्ने बाटो नरोज । मेरो संसद्भित्र प्रवेश गर । सबैलाई समेटेर हिँड्ने योजना बनाउ, दलित र गैरदलितको भेद मेट । तिम्रो चिन्तनलाई जंगली खागोले चिलेको छ, त्यसबाट तिमीले जोगिनु पर्छ । मानवको बगैंचामा फुल्ने प्रत्येक फूलको आफ्नै महिमा छ । तिमी आफूलाई सृष्टिको एउटा सुन्दर फूल ठान । त्यसको उपेक्षा कतैबाट हुनुहुँदैन ।’
एउटा उदाहरण दिएर सन्दर्भ टुंग्याउँछु, भन्दै गए, गणेशकी आमाको परिचय छैन उनी द्वैमातुर (दुईटी आमा भएको) भनिन्छन् । उनको उत्पत्तिमा पुरुष तत्वको योग छैन । फेरि पनि सबैभन्दा पहिले उनकै पूजा हुन्छ । भौतिक शक्ति र प्रत्यक्ष असर उनीसँग छैन तर उनलाई गणपति पद दिइएको छ ।
त्यसैले महान् हुन, आदरणीय हुन उच्च कुलमा वा ठूलो जातमा जन्म लिनुपर्छ भन्ने कतै छैन । गुणले, कर्मले, उद्देश्यले, योगदानले मान्छे महान् हुनुपर्छ । त्यसैले तिमी अरू ढंगले आफ्नो परिचय बनाऊ । म अनुरोध गर्छु दलित नभन, दलित नहोउ र अरूलाई पनि दलित बनाइराख्ने सोच नराख । तिमीले आफैं उठ्नुपर्छ र अरूलाई पनि उठाउनु पर्छ । तिम्रा सन्तान दर सन्तान दलित नभनियुन्,’ आग्रह भावले अनुरोध गरे ।
‘कसैले बाटामा तिमीलाई दलित भाइ, दलित दाइ, दलित बहिनी, दलित बन्धु भनेर बोलायो वा त्यसरी परिचय दियो भने तिमीलाई प्रिय लाग्ला त ? तिमीलाई दलित नै मन पर्छ भने एउटा पुस्तकमा दश हजार दलित शब्द लेखेर प्रकाशित गर्न सकिन्छ । तिम्रो माग दलित मन्च बलियो बनाउनु होइन त ?’ उपाध्याय आवेगमा बोले ।
तबेलामा वा बंगुर फर्ममा काम गरेर, सिधै सभामा नजाउ, मन्दिरमा, चर्चमा नपस, नुहाएर लुगा फेर अनि जाउ । तिम्रो स्वागत सबैतिर छ । कटु यथार्थ देखाएर उदाहरण पेस गरे र शान्त भए ।
प्रिय मित्र, उपाध्यायजीले तपाईंलाई आचार्य बनाइसक्नुभयो । मैले केही बोल्नै परेन । अर्को भेटमा हाम्रा कुरा गरौंला । यसपटकको हाम्रो नारा होस्… दलित नबनौं, दलित नभनौं । सम्पादकले कुराको बिट मार्यो ।
ललल
प्रतिक्रिया