काठमाडौं । राजनीतिक समूह, व्यापारिक तथा व्यावसायिक संस्थाको दबाबका कारण सञ्चारकर्मीले स्वतन्त्र रूपमा समाचार संकलन तथा प्रकाशन गर्न नसकेको पाइएको छ ।
राजनीतिक स्वार्थको टकराव, कर्पोरेट कल्चरका कारण सञ्चारकर्मीले निर्भयतासाथ काम गर्न नसकेको तथा व्यावसायिक रूपमा काम गर्न सक्ने वातावरण नभएको भन्दै कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल पत्रकार महासंघको आयोजना तथा युनेस्कोको प्राविधिक सहयोगमा शुक्रबार गरिएको ‘स्वनियन्त्रण तथा सञ्चारकर्मीको सुरक्षा’ विषयक सम्मेलनमा सहभागीले भ्रष्टाचार, अपराधिक र अन्य कारणले गर्दा सञ्चारकर्मी समस्यामा परेको बताए ।
पत्रकार, सम्पादक र व्यवस्थापनको राजनीतिक आस्थाले पनि कतिपय अवस्थामा समाचार स्वनियन्त्रणमा पर्ने गरेको भन्दै पत्रकारले नै विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइयो । नेपालमा राजनीतिक संक्रमणकालका कारण सञ्चारकर्मीले समाचारको स्वनियन्त्रण गर्नुपरेको भन्दै पत्रकारिता क्षेत्रको दिगो विकासका लागि मुलुकमा तत्काल संविधान जारी हुनुपर्नेमा समेत जोड दिइयो ।
सञ्चारकर्मीमाथि आक्रमणमा सहभागी कानुनी दायरामा नआउने, राजनीतिक समूहको दबाब रहने, आपराधिक समूहको दबाब कायम रहेको, व्यापारिक तथा कर्पोरेट क्षेत्रको अनावश्यक हस्तक्षेप रहने गरेको, संख्यात्मक रूपमा सञ्चारमाध्यम र सञ्चारकर्मीको विकास भए पनि गुणस्तरमा ध्यान दिन नसकिएको भन्दै सहभागीले पत्रकारले निर्भयतासाथ काम गर्ने वातावरण तयार पार्नुपर्ने धारणा राखिएको थियो ।
पत्रकारको व्यावसायिक सुरक्षा कम रहेको, नियुक्तिपत्र कमै पत्रकारले मात्रै पाएको, न्यूनतम पारिश्रमिक पनि नपाएको, पाएको पनि आधाभन्दा कम मात्रै पाएको, पेसागत सुरक्षा नभएको अवस्थामा स्वनियन्त्रण अझै बढी रहेको जानकारी गराइयो ।
नेपालका सञ्चारकर्मीमा व्यावसायिक क्षमताको अभाव रहेको छ भने सञ्चार उद्योगले पनि व्यावसायिकताको नाममा कर्पोरेट संस्कृतिलाई बढावा दिएको भन्दै सञ्चारमाध्यमलाई गुणात्मकता प्रदान गर्न सरकार तथा सरोकारभएका सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिइयो ।
यस्तै, हाल कार्यान्वयनमा रहेको विद्युतीय कारोबार ऐन पत्रकारका लागि धराप जस्तै बनेकाले त्यसका केही प्रावधानको खारेज गरी संशोधन गर्नुपर्ने र पत्रकारमैत्री बनाउनुपर्ने धारणा राखिएको थियो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता संविधानमा नै भए पनि व्यवहारिक रूपमा त्यसो हुन नसकेको र कार्यान्वयनमा आउन नसकेको भन्दै तत्काल कार्यान्वयन हुनुपर्ने आवश्यकतासमेत औँल्याइयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले बाहिर नदेखिने तर भित्र असाध्यै स्वनियन्त्रणले गाँजेको बताए । उनले विगतजस्तो मुलुकमा स्वनियन्त्रणको अवस्था धेरै नभए पनि कर्पोरेट संस्कृतिले पत्रकार बढीभन्दा बढी प्रताडित हुनुपरेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संख्यात्मक रूपमा पत्रकार र सञ्चारमाध्यमको विकास भए पनि गुणात्मकता, व्यावसायिकता र स्वतन्त्रतामा ध्यान नदिइएका कारण समस्या भएको बताए ।
कार्यक्रममा मिडिया स्वतन्त्रता केन्द्रका अन्तर्राष्ट्रिय निर्देशक विलियम होरेस्कीले विश्वभर नै पत्रकार स्वनियन्त्रणको समस्याबाट प्रताडित भएको बताए । उनले पछिल्लो दश वर्षमा ६ सय पत्रकार मारिएको जानकारी दिँदै तथ्यांकलाई विश्लेषण गर्दा हप्तामा एक पत्रकारको ज्यान गएको तथ्य पेस गरेका छन् । (सौस)
प्रतिक्रिया