दाङ, ४ वैशाख । एक वर्षभन्दा बढी भयो गाउँमा विद्युत् रिडर गर्न कर्मचारी नछिरेको । मासिक रूपमा विद्युत् महसुल बुझाउनुपर्छ ।
त्यो महसुल बुझाउनुभन्दा अघि विद्युत् कार्यालयका कर्मचारीले उपभोक्ताले कति बिजुली उपभोग गरे भनेर अनुगमन गरी रसिद काट्नुपर्ने प्रावधान रहे पनि दाङ लमही नगरपालिका वडा नं. ३ र ६ मा बसोवास गर्ने नागरिकको घरमा मिटर रिडिङ नहुँदा उपभोक्ता मर्कामा परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण शाखा लमहीको चरम लापरवाहीका कारण उपभोक्ता मर्कामा परेका हुन् । ‘मिटर रिडिङ भएको छैन्, हामी चर्काे जरिवाना तिर्न वाध्य भयौँ ।’ लमही नगरपालिका वडा नं. ३ निवासी केशवराज पोख्रेलले भने, ‘जानेकाले आफैं अंक टिपेर विद्युत् महसुल बुझाउछौँ, नजानेकालाई निकै हैरानी भइरहेको छ ।’
लमही शाखामा लमही नगरपालिका भित्र मिटर रिडिङ गर्न तीन जना कर्मचारी खटिएका छन् । ठूलो क्षेत्र भएकाले काम गर्न ती कर्मचारीलाई समस्या भइरहेको कार्यालयले जनाएको छ ।
लमही नगरपालिका वडा नं. ३ र ६ अन्तर्गत पर्ने कौडिया, फल्कापुर, शान्तिपुर, वनकट्टी, रनियापुरलगायत गाउँका सयौँ घरधुरीमा मिटर रिडिङ नभएको भन्दै स्थानीयले विद्युत् कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
‘मिटर रिडिङ गर्ने अनि महसुल नबुझाएको भन्दै अनावश्यक चर्काे शुल्क लिने यस्तो नियति अपनाइरहेको छ, विद्युत् कार्यालय’ पोख्रेलले भने, ‘मिटर रिडिङ नहुँदा अहिलेसम्म बुझाएको जरिवाना शुल्क फिर्ता हुनुप-यो ।’
मिटर रिडरले कार्यालयबाट सेवा सुविधा लिइरहे पनि उपोक्ताको घरमा नपुग्ने गरेको गुनासो उपभोक्ताको छ । ‘सरकारबाट सेवा सुविधा लिने तर काम नगर्ने यस्ता कर्मचारी पनि छन्’ भोजराज भुसालले भने, ‘यस्ता कर्मचारीको पहिचान गरी कारबाहीको माग गरेका छौँ ।’
स्थानीय उपभोक्ताले विद्युत् कार्यालयमा पुगी मिटर रिडिङ गर्न माग गरेका कारण कार्यालय प्रमुख जयबहादुर सिंह रावलले कर्मचारीको व्यवस्था गरी फिल्डमा खटाएको दाबी गरेका छन् ।
‘म आउनुभन्दा पहिले समस्या रहेछ, अब यस्तो समस्या आउन नदिन कर्मचारीलाई सोही क्षेत्रमा खटाएको छु’ उनले भने, ‘यही महिनाबाट कर्मचारी गाउँमा जान्छन्, ढुक्क हुनुहोस् ।’
लमही शाखामा लमही नगरपालिका भित्र मिटर रिडिङ गर्न तीन जना कर्मचारी खटिएका छन् । ठूलो क्षेत्र भएकाले काम गर्न ती कर्मचारीलाई समस्या भइरहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया