बढ्दो सवारी दुर्घटनालाई ध्यानमा राखेर ट्राफिक प्रहरीले मापसे चेकिङ सुरु गरेको लामो समय बित्यो । खास गरी चाडबाडमा हुने अत्यधिक सवारी दुर्घटना मादक पदार्थ सेवनपछि गरिने सवारी चलाउँदा हुने गरेको ट्राफिकको भनाइ छ ।
सुरुसुरुमा उक्त चेकिङमा पुरुष चालकहरू बढी कारबाहीमा पर्थे तर, पछिल्लो समय महिला चालक समेत मापसे कारबाहीमा पर्ने गरेका छन् । ट्राफिक प्रहरीमा रहेका मापसे कारबाहीको संख्यामा कस्तो छ महिला मापसेको अवस्था ? यो सन्दर्भमा सौर्य दैनिकले गरेको खोजतलासः
समाजमा बढेको आधुनिकताले मान्छेको जीवनशैलीसँगै खानपानमा समेत परिवर्तन ल्याएको छ । केहीवर्ष पहिलासम्म नेपाली समाजमा महिलाले मदिरा सेवन गर्नुलाई अनौठो रूपमा लिने गरिन्थ्यो ।
पुरुषले मादक पदार्थ सेवन गरेर जति बबाल गरे पनि सहज रूपमा लिने तर, महिलाले खाएको देख्दा जिब्रो टोक्ने हाम्रो समाजको हेराइ र सोचाइमा धेरै परिवर्तन आएको छ ।
कर्मकाण्डमा अनिवार्य मानिएका जात र समुदायका महिलाहरू सीमित मात्रामा मदिरा सेवन गर्थे, त्यो पनि अरूले थाहा नपाउने गरी आफ्नो सीमित सर्कलमा बसेर । तर, हिजोआज खुलेआम मदिरा खाने महिलाको संख्या बढ्दै छ ।
आफ्नो हैसियत अनुसार उच्चस्तरको विदेशीदेखि स्वदेशी एवं घरेलु मदिरा पिउने महिला भेटिनुलाई नौलो मान्नु पर्दैन हिजोआज । खुल्लापन र आधुनिक जीवनशैलीले यी कुरालाई सहजै पचाएको छ ।
बिहे, व्रतवन्ध, चाडवाड र पारिवारिक जमघटमा मदिरा अनिवार्य जस्तै बन्न थालेको छ हिजोआज । ‘पार्टी, भोज त्यो पनि विनाड्रिङ्क’ ? हिजो आज भोजभतेरमा यस्ता प्रश्न सामान्य हुन थालेको छ ।
समाजले लिएको परिवर्तित गतिसँगै मदिरा सेवन गर्ने महिलाको संख्या बढ्न थालेको छ । मदिराले लठ्ठ हुँदा मनको पीडा बिर्साउँछ भन्ने भ्रम धेरै मान्छेमा पाइन्छ । त्यस्तै आपूmले हासिल गरेको सुख बाँड्ने सबैभन्दा उत्तम वस्तु भनेको चुस्की लगाउनु हो भन्नेहरूको पनि कमी छैन समाजमा ।
मदिरा सेवनले दुःख बिर्साउँछ भन्ने भ्रम र खुसी बाँडने साधन मान्नेको भिडमा महिलाहरू पनि बर्गेल्ती भेटिन्छन् हिजोआज । मदिराको प्रयोग गरेर खुलारूपमा हिँडने र यस्तो बेला सवारी साधन प्रयोग गर्ने महिला भेटिनुलाई नौलो मान्नु हँदैन । यसरी भेटिने महिला पुरुषको तुलनामा महिलाको संख्या कम छ ।
सार्वजनिक समारोहमा महिलाले रक्सी खान्छन् भन्दा अनौठो मान्ने चिन्तनमा बदलाव आएको छ । सीमित घेरा तोडेर सार्वजनिक रूपमा मात्र मदिरा सेवन गर्दैनन् हिजो आजका महिला । मदिराले लठ्ठ परेर सवारी पनि हाँक्न थालेका छन् ।
ट्राफिक प्रहरीले सुरु गरेको मापसे कारबाहीमा पर्ने महिलाको संख्या बढ्दै गरेको तथ्यांकले सो कुराको पुष्टी गर्छ । त्यसैले हिजोआज मापसेमा महिला चालक परे भन्दा अचम्म मान्नु पर्दैन । ट्राफिक प्रहरीको पछिल्लो तथ्यांक हेर्ने हो भने मापसे कारबाहीमा महिलाको संख्या पत्याउनै नसक्ने गरी बढेको छ । यसैले प्रष्ट पार्छ मादक पदार्थ सेवन गर्ने महिला कसरी बढ्दैछन् भन्ने ।
मदिरा सेवन गरेर सवारी चलाउँदा बढ्ने गरेको दुर्घटनालाई ध्यानमा राखेर ट्राफिक प्रहरीले ०६८ मंसीर १७ देखि मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही सुरु ग-यो । चालकमा मादक पदार्थ सेवन चेक निरीक्षण (मापसे) नाम दिएको उक्त कार्यबाहीमा पुरुष चालक मात्र पर्ने आँकलन धेरैको हुन सक्थ्यो ।
तर, त्यसो भएन । महिला चालकले समेत मदिराको चुस्की दिएर सवारी चलाएको भेटियो ।
मापसे कारबाहीमा हालसम्म एक लाख ७२ हजार नौ सय ९३ जना परेका छन् । कारबाहीको दायरामा आएका ती मध्ये महिलाको संख्या एक हजार ५९ छ ।
यिनीहरू मध्ये धेरैको सवारीचालक अनुमति पत्रमा ट्राफिकले कारबाही स्वरूप प्वाल पारेको छ । एकपटक होइन कयौँको लाइसेन्समा दोहो-याईं–तेह्र-याईं प्वाल परेको ट्राफिक कार्यालयको दाबी छ । सुरुका दिनमा लाइसेन्समा प्वाल पारिदैन थियो, जरीवाना र कक्षामा बसे पुग्थ्योे । तर, मापसे गर्नेले टेर पुच्छर नलगाएपछि लाइसेन्स नै प्वाल पार्न थालियो ।
मापसे कारबाहीमा परेका कयौँ चालक समाजमा प्रतिष्ठा गुम्ने डरले आफ्नो सवारीचालक अनुमतिपत्र लिन जाँदैनन् । मापसे गर्ने तर मापसे भनिने लाजले लाइसेन्स लिन नजानेको संख्या १३ हजार १९ छ । अहिले पनि कयाँै पुराना लाइसेन्स ट्राफिक कार्यलयमा थन्केर बसेको अवस्था छ । ट्राफिक प्रहरीले उक्त अभियानमा कारबाहीमा ठूलै रकम राजस्वमा संकलन गरेको छ ।
कार्यालयले दिएको जानकारी अनुसार हालसम्म रु. १५ करोड ९९ लाख ७४ हजार मापसे जरीवाना रकम असुलेको छ । मापसे कारबाहीमा पर्ने सवारीचालकको लाइसेन्समा प्वाल पार्ने नियम छ । ट्राफिक कार्यालयमा एक सय ३५ वटा लाइसेन्समा ६ पटकसम्म प्वालपरेको रेकर्ड छ भने कुल ९३ हजार सात सय १९ जनाको लाइसेन्समा प्वाल पारेको छ ।
महानगरीय ट्राफिक कार्यलयका प्रमुख डिआइजी जयबहादुर चन्दले बताए अनुसार पछिल्लो समय मापसे गर्नेहरू नघटे पनि सचेतता भने बढेको छ । पहिले र अहिले मदिरा पिउनेहरूको संख्या उस्तै हो, फरक यति हो की कारबाही हुन थालेपछि, मापसे गरेर सवारी चलाउनु हुँदैन भन्नेहरूको संख्या बढ्दै छ ।
मापसे कारबाहीमा हालसम्म एक लाख ७२ हजार नौ सय ९३ जना परेका छन् । कारबाहीको दायरामा आएका ती मध्ये महिलाको संख्या एक हजार ५९ छ ।
आइजी चन्दका अनुसार सुरुमा ‘मापसे चेकिङप्रति मान्छेको गलत धारणा थियो’, ‘ट्राफिकले अनावश्यक दुःख दियो भन्ने भ्रम थियो मान्छेहरूमा । मापसे चेकिङका कारण पिएर सवारी चलाउनेको संख्या घट्न थालेपछि सकारात्मक रूपमा लिने बढी छन् ।
मापसेका कारण हुने सवारी दुर्घटना र मानवीय क्षति क्रमशः घट्दै गएको चन्दको धारणा छ । डिआइजी चन्द थप्छन्– मापसे कारबाही हुनु पहिला चाडवाडमा बढी सवारी दुर्घटना हुथ्ये । त्यसरी हुने अधिकांश दुर्घटनाको करण मदिरा सेवन हुन्थ्यो । अहिले त्यसको संख्या घटेको छ ।
मापसे चेकिङ आमसवारी चालकको सुरक्षाको लागि हो भन्ने धारणाको विकास हुन थालेको डिआइजी चन्दको धारणा छ । हामी कसैलाई अनावश्यक दुःख दिन चाहदैँनौ, मापसे चेकिङ चालकको सुरक्षाको लागि हो ।
मापसे महिलाबारे डिआइजी चन्द भन्छन्, ‘आम मान्छेको दैनिकी जसरी परिवर्तन भएको छ, त्यसै गरी महिलामा आएको परिवर्तन हो मापसे गर्नु पनि, । महिलाले पिउनु नै हँदैन भन्ने होइन, मात्रै कहिले र कुन बेला कसरी पिउने भन्ने हो ।
मापसे गर्ने महिला पनि हाम्रो कारबाहीमा परेका छन् । कयौँले लामो समयसम्म लाइसेन्स लगेका पनि छैनन् । उनीहरूको सामाजिक प्रतिष्ठाको कारण नाम सार्वजनिक गर्नु उचित हँदैन ।
पहिला जस्तो छैन कारबाहीमा पर्ने डरले घरानियाँ महिलाहरू मापसे गर्दा आपूm सवारी चलाउँदैनन्, चालक लिएर हिँड्छन् । कारबाही पर्ने महिलामा अधिकांश स्कुटी चलाउनेहरू छन् ।
मापसे कारबाहीमा पर्नेहरूलाई कारबाही नगर्न कहिलेकाहीँ ठूलाबडाको दबाब नआउने होइन । तर, हाम्रो नजरमा सबै समान हुन् दबाबमा पर्ने गरेका छैनौँ, हरेक कुरामा दबाब दिनु र सकेसम्म उम्कन खोज्नु नेपाली समाजको चरित्र जस्तै बनेको छ ।’
मापसे कारबाहीमा परेकालाई लामो समयदेखि प्रशिक्षण दिँदै आएका महानगरीय ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक हरिशरण पौडेलले मापसेमा समातिएका धेरैलाई पढाइसके । प्रसनि पौडेल भन्छन्, ‘सुरुमा कक्षामा को आयो, को गयो थाहा हुँदैन, पछि थाहा हुन्छ आपूmले नाम सुनेका उच्च ओहोदाका मान्छे पनि कक्षामा आउँदा रहेछन् ।
कयौँ ठूला मान्छे आउँछन् र कक्षा लिन्छन् तीमध्ये कतिलाई आपूले टेलिभिजनमा देखेको अनुहार र नाम सुनेका मान्छे पर्दछन् ।’ पौडेल बेलाबेला राति डिउटीमा मापसे चेकिङमा समेत जाने गरेका छन् । उनले डिउटीमा खट्दा भेट्ने गरेको महिला मापसेलाई यसरी सम्झन्छन्, ‘मापसे गरेका महिला ट्राफिक देख्ने बित्तिकै आत्तिन्छन्, कारबाहीमा पर्ने डरले उम्कन अनेक प्रयत्न गर्छन् ।
जरीवाना तिर्नु परे पनि क्लास लिनु नपरे हुन्थ्यो भनेर आग्रह गर्छन् । सके धम्काउँछन् पावरको फुर्ती लगाउँछन् । केही नलागे रुन थाल्छन् । पक्राउमा परेपछि उनीहरूको अनुहार अर्कै हुन्छ ।
प्रसनी पौडेलको मस्तिष्कमा ताजै छ, एउटा मापसे कारबाहीको घटना । स्मरण गर्दै भन्छन्, ‘एकपटक पूर्वडिआइजीले आफ्नै सालोलाई समेत मापसे कक्षामा राखेर क्लास लिन लगाए ।’
कति ‘सर, लौ न ! दाइ, जे गर्नु परे गराँला, एकपटकलाई छोडिदिनु’ भनेर लाइसेन्स दिन गाह्रो मान्छन् । तर, हामी आफ्नो जिम्मेवारीबाट पछि हट्ने गरेका छैनाँ, कसुर अनुसारको तोकिएको कारबाही सबैलाई हुन्छ ।’
प्रसनी पौडेलको मस्तिष्कमा ताजै छ, एउटा मापसे कारबाहीको घटना । स्मरण गर्दै भन्छन्, ‘एकपटक पूर्वडिआइजीले आफ्नै सालोलाई समेत मापसे कक्षामा राखेर क्लास लिन लगाए ।’ मापसे कारबाहीमा उच्च तहका कर्मचारीका परिवारसमेत नछुट्ने गरेको दाबी गर्दै भने उनले । तर, यतिबेला म ती डिआइजीको नाम सावर्जनिक गर्न चाहन्नँ ।
पूर्वडिआइजीको नाम बताउन चाहेनन् पौडेलले । उनको अनुभवमा उच्चतहका महिला पुरुष र उनका परिवारका सदस्य धेरै छन् जोसँग उनको मापसे कक्षामा साक्षात्कार भएको छ । तर, ‘सामाजिक सम्वेदनशीलतालाई ध्यानमा राखेर नाम सर्वजनिक गर्नु मिलेन,’ आफ्नो विवशता पोखे पौडेलले ।
पौडेलले नाम नबताए पनि आपूmले समाजका सबै वर्ग समुदाय र पेसाका व्यक्ति भेटेका छन् मापसे गर्नेमा । पौडेल भन्छन्– कयौँ सेलिब्रेटीसँग भेट हुन्छ, समाजका प्रतिष्ठित भनिने व्यक्तिहरू पनि परेका छन् कारबाहीमा । पछिल्लो समय कारबाहीमा पर्ने डरले हत्तपत्त पिएर सवारी चलाउँदैनन् उच्च ओहोदाका व्यक्तिहरू ।
रात्री डिउटीमा खटिएर मापसेका अनेक दबाब खेप्ने महिला ट्राफिक प्रहरीको आ–आफ्नै अनुभव छ । ट्राफिक जवान कोपिला बानियाँको अनुभवमा– राति डिउटीमा हुन्छौँ, मापसे गरेकाहरू ब्रेथलाइजर देख्ने बित्तिकै तर्सन्छन् । कतिले हाम्रो परम्परा अनुसार खानै पर्ने भएकोले थोरै सगुन खाएर आएको हो भन्छन् ।
‘रेडबुल खाएको हो, ड्रिंक गरेको होइन । थोरै वाइन खाएको, कहाँ रक्सी खानु’ भन्नेहरू धरै भेटिन्छन् । बानियाँ थप्छिन्, ‘धम्काउने, तर्साउनेको त कुरै नगरौँ ।
रक्सीको मादमा जंगिँदै भन्छन्, ‘जागिर जाला मलाई कारबाही गरे होस गर्नु, मेरो फलानो ठाउँमा ठूलो मान्छे छ’ भनेर थर्काउँछन् । कतिले नामै लिएर फलानो मेरो मान्छे हो भनेर उच्च ओहोदामा भएको नाम लिन्छन् । तर, हामी आफ्नो काममा पूर्णरूपमा जिम्मेवार हुन्छौँ । कसैको धम्कीमा डराउने गरेका छैनौँ । हामीलाई राती धम्काउनेहरू भोलिपल्ट हाँस्दै कक्षा लिन आउँछन् ।’
बाँनियाले भेटेका महिला मापसेमा धेरैजसो रेस्टुरेन्टमा काम गर्ने हुन्छन् । उच्च घरानियाँ जो गाडीमा हिँड्छन् उनीहरूले चालक राख्ने गरेको उनको अनुभव छ । रेस्टुरेन्टमा काम गर्ने कारबाहीमा पर्दा बढी रिसाउने र भद्दा शब्द प्रयोग गर्ने गरेको उनको भोगाइ छ ।
भन्छिन्, ‘रेस्टुरेन्टमा काम गर्नेले जे पनि बोल्छन्, लाज सरम नै मान्दैनन् । हामीलाई उनीहरूको भनाईसँग सरोकार हँदैन, आफ्नो डिउटीसँग मात्र सरोकार हुन्छ । जे गर्न चाहेका हुन्छौँ, गर्छौं । कहिलेकाहीँ मापसे महिलाको अवस्था र हर्कत देखेर हाँसो उठ्छ । तर, कारबाही गर्नु हम्रो डिउटी हो । पूरा गर्छौं ।’
प्रस्तुतिः चमिना भट्टराई
प्रतिक्रिया