प्रक्रिया र नियमावलीअनुसारनै संविधान

K-P-Oliभक्तपुर, १ वैशाख । एमालेका अध्यक्ष केपी ओलीले नयाँ वर्ष २०७२ मा मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।

आज अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा झापा आन्दोलनका सहकर्मीका लागि आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै जेठ १५ मा संविधान आउन सम्भव नभए पनि जतिसक्दो छिटो संविधान आउने बताए ।

उनले भने, ‘विधि र प्रक्रिया मिलाउनुपर्ने भएकाले जेठ १५ मा संविधान आउन गाह्रो छ, तर जतिसक्दो छिटो अब मुलुकले संविधान पाउँछ ।’

उनले २०७१ सालमा पूरा हुन नसकेको संविधान निर्माणको काम यो वर्ष पूरा हुने विश्वास व्यक्त गर्दै ढिलो नगरी संविधान जारी हुने बताए ।

संविधान निर्माणका क्रममा के अब ‘क्लिक’ हुन मात्र बाँकी हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले संविधान निर्माणमा सहमति जुटाउन अझै प्रयत्न गर्न र संविधान निर्माणका प्रक्रिया पूरा गर्न बाँकी रहेकाले जेठ १५ भित्र संविधान आउन भने गाह्रो रहेको बताए । उनले आफ्नो पार्टी ढिलो नगरी संविधान जारी गर्न दृढ रहेको बताए ।

अध्यक्ष ओलीले अहिलेसम्मको समय संविधान निर्माणका विषयमा जनतालाई बुझाउन र केही दलका बेठीक सोचाइ र कार्य सच्चिनमा बिते पनि अब सहमति हुन नसकेको विषयमा छलफल गर्दै जाने गरी भएपछि संविधान आउने बताए ।

आफूहरु सहमतिका लागि प्रयत्नशील रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘सहमतिमा नआउनेहरु अब पछि पर्छन्, यो नयाँ वर्षमा नयाँ संविधानसहित मुलुकलाई आर्थिक विकासतर्फ अगाडि बढाउनुपर्छ ।’

सकेसम्म सहमतिबाटै संविधान निर्माणका लागि पहल गर्ने, सहमति नभए अधिकतम सहमतिमा विधि, प्रक्रिया र नियमावलीअनुसार संविधान बन्ने ओलीले बताए ।

अध्यक्ष ओलीले संविधान निर्माणका लागि अब समय कुरेरमात्र नहुने र सहमति बनेका विषयलाई संविधान निर्माणको प्रक्रियामा लानुपर्ने र सहमति नभएका विषयलाई सहमतिका लागि पछि छलफल गरेर सहमति खोज्ने गरी संविधान निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया