दाङमा इनार बनाउन लन्डनमा पैसा संकलन

inar-final Kuwaलन्डन । दाङका विपन्न समुदायका लागि आउँदो सुख्खायाममा दशवटा इनार खन्ने अभियानमा अहिलेसम्म ६ लाख रुपियाँ उठिसकेको छ । अभियानका लागि सहयोग जुटने क्रम जारी रहेको अभियानकर्ताहरूले जनाएका छन्।

झण्डै १४ वर्षअघि स्वयंसेवकको रुपमा नेपाल पुगेकी एकजना ब्रिटिश नागरिक एलिस रथ फिशरले सुरू गरेको अभियानमा उनका साथीहरूका साथै संसारभरि फैलिएका नेपालीले समेत सघाइ रहेका छन् ।

सुरूमा चार हजार पौण्ड (झण्डै छ लाख रुपियाँ) जुटाउन क्राउडफण्डिङमार्फत थालिएको अभियानअन्तर्गत अहिलेसम्म ४४०० पौण्ड जुटीसकेको छ। अब अभियानले थप ४०० पौण्ड उठाउने लक्ष्य लिएको छ।

इच्छुक सहयोगदाताले आउँदो अप्रिल १५ तारिख भित्र http://www.crowdfunder.co.uk/dig-deep-10-fresh-water-wells-in-nepal #sthash.WfBW9Iuc.dpuf  मा गएर पेपल वा डाइरेक्ट डेबिटमार्फत सहयोग दिनसक्ने पनि आयोजकहरूले जनाएका छन् ।

‘यो अभियानमा नेपाललाई माया गर्ने ब्रिटिश र संसारभरि फैलिएका गैरआवासीय नेपालीबाट प्राप्त सहयोग र समर्थनबाट म अभिभूत भएकी छु’, एलिसले भनिन् । उनले सम्पूर्ण सहयोगदाताहरुप्रति हार्दिक आभार पनि व्यक्त गरेकी छिन् ।

सुरूमा सौंडियार, हापुर, ढिकपुर र धर्ना गाविसमा स्थानीय थारु तथा दलित समुदायका लागि जम्मा दशवटा इनार बनाउने योजना रहेको छ ।

अब सौडियार गाविस घडेरीस्थित शान्ति बाल गृहका लागि एक र नारायण‌पुर गाविसको बनगाउँमा एक गरी जम्मा बाह्रवटा इनारहरू बनाइने अभियानमा संलग्न तीर्थ पौडेलले बताए ।

शान्ति बालगृहमा दलित, जनजाति तथा द्वन्द्वपीडित समुदायका बालबालिकाहरूलाई नेपाली संस्कृति र पहिचानमा आधारित आवासीय शिक्षा प्रदान गरिदै आएको छ।

‘नयाँ खनिने इनारहरूबाट प्रदूषित पानीका कारण झाडा पखालाबाट ज्यान जाने कैयौं बालबालिकाहरूको जीवन बँच्ने र एक गाग्री पानी भर्न टाढा टाढा जान वाध्य ग्रामीण महिलाको समय पनि बचत हुनेछ’, पौडेलले भने।

इनार निर्माणको काम दाङको प्रतिष्ठित गैरसरकारीसंस्था मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रसंगको सहकार्यमा गरिने छन्।

प्रतिक्रिया