झाडापखाला फैलिएको गाउँमा उपचार सुरू

Baby-Jhadapakhala

सर्लाही, २५ चैत । एक सातादेखि झाडापखालाको प्रकोप फैलिएको सर्लाहीको वसन्तपुर गाविस–१, बगेवा टोलामा आजदेखि जिल्ला स्वास्थ्य कार्यालयको टोलीले बिरामीको उपचार सुरू गरेको छ ।

वसन्तपुर गाविसस्थित उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्दा उपचार अभावमा झाडापखालाबाट दुईजना शिशुको शनिबार मृत्यु भएको थियो ।

स्थानीयवासी गणेश राउतका दुई महिने छोरा रोहित राउत र बद्री मण्डलकी आठ महिने छोरी नन्दनी कुमारीको मृत्यु भएको हो । अन्य दुई दर्जनभन्दा बढी व्यक्ति बिरामी भएका छन् ।

‘झाडापखालाबाट बिरामी छोरी उपचारका लागि स्थानीय सरकारी अस्पतालमा गत शुक्रबार १० बजे जाँदा खुलेकै थिएन र डेढ घण्टा पर्खदा पनि कोही आएनन्’, मृतक बालिका नन्दनीकी आमा प्रमिला देवीले आज घटनास्थल पुगेको पत्रकारको टोलीसँग गुनासो गरिन्, ‘गाउँको क्लिनिक पनि बन्द थियो, समयमै उपचार नपाएर छोरीको ज्यान गयो ।’

प्रमिलाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया छन् । पर्मिलाको घरमा उनीसँगै दुई छोरा र दुई छोरी पनि अहिले झाडापखालाका कारण बिरामी छन् ।

स्थानीय ६२ वर्षीय राजाराम खत्वेले उपस्वास्थ्य चौकी प्रायः बन्द रहने गरेको गुनासो गरे । ‘अस्पताल कहिलेकाहीँ मुस्किलले आधाघण्टा मात्र खुल्छ’, खत्वेले भने, ‘स्वास्थ्यकर्मी भेटिए पनि कहिले औषधि दिन्छन्, कहिले दिँदैनन् ।’

बगेवा गाउँमा एकसाता यता फैलिएको झाडापखालाका क्रममा स्थानीय उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभेटिँदा र स्थानीय क्लिनिकसमेत बन्द भई ढिला गरी भारतमा उपचार गर्न लैजाँदा दुई बालबालिकाको मृत्यु भएको परिवारजनले बताएका छन् ।

गत सोमबार खबर गरेपनि जिल्ला स्वास्थ्य कार्यालयले भने आजदेखि मात्र बिरामीको उपचार सुरु गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

उपस्वास्थ्य चौकी प्रमुख रामाषिशराय यादव नेतृत्वको टोलीले चार जनालाई स्लाइन पानी दिन सुरु गरेको छ । अन्यलाई जीवनजल वितरण गरिएको छ । एकजना बिरामीको भने जनकपुरमा उपचार भइरहेको छ ।

अधिकांश दलित समुदायको बसोबास रहेको बगेवा गाउँ सदरमुकाम मलङ्गवादेखि २५ किलोमिटर पूर्व सर्लाही र महोत्तरीको सिमा नदी हर्दी खोला किनारमा पर्दछ । दूषित पानीका कारण झाडापखालाको प्रकोप फैलिएको अनुमान गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाका वरिष्ठ जनस्वास्थ्य अधिकृत मोहम्मद दाउदले खबर ढिलागरी आएकाले आजदेखि बिरामीको घरघरमा उपचार सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया