सबैतिर राज्य पक्ष हारेको वर्ष

Manoj-Ghimireइञ्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुदमा राज्यको आठ करोड रुपियाँभन्दा बढी लगानी भएको थियो । दुई सयभन्दा बढी राज्यले सूचीकृत गरेका खेलाडी सहभागी थिए । सबै पदकबिहीन बने ।

अन्त्यमा राज्यबाट रोक्न खोजिएकी, कुनै सुबिधा उपयोग नगरेकी विमला तामाङले महिला एकल कातामा काश्य पदक जित्दै नेपाललाई पदकबिहीन हुनबाट बचाइन् । संसारकै खेलकुद क्षेत्रमा अस्वभाविक मानिने यो घटना नै वर्ष २०७१ मा नेपाली खेलकुदमा सबैभन्दा चर्चाको विषय बन्यो । विमलाले जितेको पदक नै नेपाली खेलकुदमा रहेका राजनीतिक व्यक्तित्वको नैतिकतामापनका लागि पर्याप्त बनेको थियो ।

त्यसो त एसियाडलगत्तै बालाजु कराते एकडेमीले आयोजना गरेको कार्यक्रममा सभाषद् टोपबहादुर रायमाझी र लक्ष्मण राजबंशीले संसदमा यो कुरा उठाउने प्रतिबद्धता जनाए पनि खेलकुदमा राजनीतिक गैरजिम्मेवारिपन र अनैतिकताको प्रश्न त्यत्तिकै सेलायो । राजनीतिक नेतृत्वको नैतिकतामाथि फेरि अर्को प्रश्न खडा भयो ।

त्यसो त थाइल्यान्डको फुकेटमा भएको एसियाली बिच खेलकुदमा सहभागिता जनाएका कारण साम्बो संघमाथि नै कार्बाहीको धम्की दिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले प्रतियोगितामा पदक जितेकी भगवती माझीलाई सम्मान गरे ।

विवादमा रुमल्लिने नेपाली खेलकुद २०७१ मा त्योभन्दा फरक रहन सकेन । जित, उत्साह रोमान्स र सनसनीपूर्ण नतिजाभन्दा बढी विवाद र आर्थिक अनियमतता वितको वर्षका सबैभन्दा चर्चा योग्य घटना बने ।

हार र जितकै चर्चा गर्दा हरेक विवादित विषयमा राज्य पक्षको हार भयो भने राज्यको खेल निकायमा रहने हरेक व्यक्तिको नैतिकतामाथि बारम्बार प्रश्न उठिरहन्छ ।

जित, उत्साह रोमान्स र सनसनीपूर्ण नतिजाभन्दा बढी विवाद र आर्थिक अनियमतता वितको वर्षका सबैभन्दा चर्चा योग्य घटना बने ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा रहेको ५८ करोड रुपियाँको आर्थिक अनियमितताको विषय अख्तियार र संबिधान सभाको सार्वजनिक लेखा समितिसम्म पुग्यो । सुरुवातमा एन्फा अध्यक्ष थापाप्रति आलोचक देखिएको लेखा समिति अन्ततः मौन रह्यो भने अख्तीयारबाट पनि कार्बाही भएन । नेपाली फुटबलमा आफू अप्ठेरोमा पर्दा विश्व फुटबल महासंघ (फिफा)बाट प्रतिबन्धको हवाला दिने गरेका गणेश थापालाई फिफाकै इथिक कमिटीले फुटबलबाट टाढा पुएको छ ।

सुरुवातमा १२० दिन फुटबल गतिबिधिमा संलग्न नहुन थापालाई सर्कुलर गरेको इथिक कमिटीले त्यो अबधी पूरा हुने वित्तिकै ९० दिनका लागि यसै खाले सर्कलुर जारी गरेको छ । लेखा समितिले छानबिनको दायरामा राखेकै समयमा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई नै कार्यबाहक दिएर थापाले फुटबलमा आफ्नो पकड यथावत राख्ने प्रयास गरे ।

राज्य पक्षको लाचारी यत्तिमा सीमित भएन । भ्रष्टाचारमा लिप्त नेपाल क्रिकेट संघ (क्यान)का बहुमत सदस्यले टिबी शाहलाई कार्यबाहक अध्यक्ष बनाउने निर्णय गरे पनि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले क्याबिनेटबाट क्यान विघटन गर्दै बिनयराज पाण्डेलाई अध्यक्ष बनाउने निर्णय गरे ।

न्यायपालिकाले त्यो निर्णयलाई बदर गरेपछि खेलकुदमा राज्य पक्षको हारको श्रृंखला कायम रहेको छ ।

प्रतिक्रिया