पूर्व युवराज पारसलाई शक्तिपीठहरू घुमाइयो

Paras6काठमाडौं, २३ चैत । ग्रहशान्ति स्वरुप पूर्व युवराज पारस शाहले आज पशुपति, गुह्येश्वरीसहितका शक्तिपीठहरूको दर्शनका साथै पूजाअर्चना गरेका छन् ।

केही आफन्त र शुभेच्छुकहरूसहित बिहान पशुपतिनाथ पुगेका पूर्व युवराज पारसले सार्वसाधारणले सरह पूजाअर्चना गरेका थिए । पशुपतिमा पूजाका लागि पुगेका पारसलाई देखेपछि उनका शुभेच्छुकहरूले समर्थनमा नाराबाजीसमेत गरेका छन् ।

पूर्व राजाका सहयोगी फणी पाठकका अनुसार पूर्व युवराज पारसले पशुपतिनाथ मन्दिरमा दर्शन गरेर टीका र माला लगाएका छन् । लगत्तै उनले गुह्येश्वरीमा पनि पूजाअर्चना गरेको जनाइएको छ ।

उनले आजै राजधानीमा रहेका शक्तिपीठहरू महांकाल, संकटा, तलेजु भवानी र मखन महादेवको पनि दर्शन गरेका छन् ।

शक्तिपीठहरूको दर्शनमा जाँदा पूर्व युवराज पारसले ढाँकाको टोपी, आशकोट, कालो पाइन्ट, कालो चस्मा, सामान्य स्पोर्ट जुत्ता र कुर्ता लगाएका थिए ।

शुभेच्छुकहरूको भीड लागेपछि उनले हात जोडेर नमस्कार गरेको सहयोगी पाठकको भनाइ छ ।

महाराजगञ्ज चप्पल कारखाना नजिक रहेको कुण्डलिनी होटेलमा बसेका पूर्व युवराज पारसलाई शक्तिपीठहरूको दर्शनपछि साइत हेरेर निर्मल निवास प्रवेश गराउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

बावु पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी हिमानी शाहले ग्रहशान्ति नगरेसम्म निर्मल निवास प्रवेशमा रोक लगाएको स्रोतको भनाइ छ ।

लागूऔषधको आरोपमा थाइल्यान्डको हिरासतमा बसेका पूर्व युवराज पारस धरौटीमा रिहा भएपछि काठमाडौंका आएका हुन् ।

लागूऔषधसम्बन्धी उनको मुद्दा थाइल्यान्डको अदालतमा चलिरहेको छ ।

उनी केही दिनअघि मात्रै काठमाडौं आइपुगेका थिए । उनकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारका सदस्यहरू लिनसमेत गएका थिएनन् ।

(तस्बिर सौजन्य शिशिर तिवारी)

Paras Paras1 Paras2 Paras3 Paras4 Paras5 Paras7

प्रतिक्रिया