नेपालमै केही गर्न इच्छुक छौं : प्रधान

Rajani Pradhanकाठमाडौं  । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी आफूहरू नेपालमै फर्किएर देशका लागि केही गर्न इच्छुक रहे पनि वातावरण नभएको बताएका छन् ।

देशमा संविधान नबन्नु, लगानीको सुरक्षा नहुनु, शान्ति र समृद्धि नहुँदा स्वदेशमा आउन चाहदाँचाहँदै हच्किनुपरेको उनीहरूको भनाइ छ ।

गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला सह–संयोजक रजनी प्रधानले नेपालमा नै फर्कन इच्छा आफूहरूलाई रहेको बताइन् । करिब महिना दिन लामो नेपाल बसाइपछि बेल्जिमय फर्कनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानले शान्ति र संविधान बन्ने हो भने आफूहरू नेपालमा नै आएर केही गर्न तयार रहेको बताइन् ।

‘हामीले विदेशमा कमाएको दुई चार पैसा लिएर आफ्नो देशमा नै केही गर्ने इच्छा छ’, उनले भनिन्, ‘कति विदेशमा बस्नु अब त स्वदेशमा नै गएर केही गरौं जस्तो लाग्छ तर नेपालमा आउन चाहँदाचाहँदै पनि यहाँको स्थितिले गर्दा आउन हच्किनुपर्ने अवस्था छ ।’

राजनीति अस्थिरता, विकास र सेवामा ढिला सुस्ती, दिन दहाडै बलात्कार, भ्रष्टचार जस्ता विषयले आफूहरूलाई चिन्तित बनाएको उनको भनाइ छ ।

महिला लक्षित योजना ल्याउन सरकारसँग माग

सह–संयोजक प्रधानले महिलालाई सक्षम र आफ्नै खुट्टामा उभ्याउन माइक्रो फाइनान्सको योजनामा आफूहरू रहेको बताएकी छिन् ।

खाडी मुलुकमा नेपाली महिलाहरू गएर दुःख झेल्नु नपरोस् भन्ने उद्देश्यले स्वदेशमा महिलालाई सक्षम बनाउन अन्य संघ संस्थासँग मिलेर माइक्रो फाइनान्सको योजना ल्याउने तयारी आफूहरूको रहेको उनको भनाइछ ।

उनले महिलालाई सिप सिकाएर ऋणसमेत प्रदान गर्ने हो भने महिलाहरू खाडी मुलुकनै जान नपर्ने अवस्था आउने बताइन् ।

आमाको नामबाट नागरिकता

एनआरएनले अब बन्ने संविधानमा बुवा वा आमामध्ये एकको नामबाट नागरिकता बन्नुपर्ने कानुनको माग गरेको छ । संविधानमा महिला र पुरुषको अधिकार समान हुनुपर्नेभन्दै यस्तो माग राखेको उनले बताइन् ।

संविधानमा नै नागरिकता बनाउन आमाको पनि समान हक भएमा सयौं बालबालिकाको आमाको नामबाट नागरिकता बन्ने र उनीहरूको उद्धार हुने सह–संयोजक प्रधानको भनाइछ ।

प्रतिक्रिया