पारा तेक्वान्दोमा के.सी.को ‘पारा’ अर्कै

paraकाठमाडौं, १८ चैत । नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन के.सी.ले एसियन पारा तेक्वान्दो खेल्न जाने खेलाडीलाई स्वीकृत नदिन आग्रह गरेको पत्रका कारण खेल र खेलाडीको भविष्य अन्योलमा परेको छ ।

पत्रका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)का साथै नेपाल तेक्वान्दो संघ र नेपाल पारा तेक्वान्दो अन्यौलमा परेका हुन् ।

जसका कारण राष्ट्रिय खेलकुद परिषदले ताइपेईमा अगामी अप्रिल १५ देखि १७ सम्म हुने प्रथम पारा तेक्वान्दो च्याम्पियनसिपका लागि २ खेलाडी १ प्रशिक्षकसहित ५ सदस्य नेपाली टोलीको स्वीकृत पत्रलाई अगाडि बढाएको छैन ।

यसअघि नेपालका पारा तेक्वान्दो खेलाडी यादव कुवरले चौथो र पाचौं विश्व पारा वल्र्ड च्याम्पियनसिपमा क्रमश: कास्य र रजत पदक भित्र्याएका थिए । अबको सहभागितामा भने कुवर अनिश्चित बन्दै गएका छन् ।

बिगत ५ महिनादेखि प्रशिक्षणमा रहेका खेलाडीका लागि एसियन तेक्वान्दो युनियनले खेल्न अनुमति पत्र पठाएसँगै तेक्वान्दो संघले परिषद समक्ष अनुमतिका लागि आग्रह गरेको थियो । स्वीकृत पत्र अगाडि नबड्दा खेलाडीहरूको भविष्य नै अन्धकार बनेको आरोप छ ।

एसियन खेलका लागि दुई खेलाडी हीरामनी अधिकारी र अरुण शाक्य, प्रशिक्षक यादव कुवर, टिम म्यानजर कासिम मियाँ र टोली प्रमुख नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणालाई एसियन खेलका लागि भिसा प्रक्रिया अगाडि बढाएको छ ।

ती खेलाडी नेपाल तेक्वान्दो संघअन्तर्गत इ.सी.डी.सी. तेक्वान्दो डोजाङ् र ब्वाइज युनियन तेक्वान्दो डोजाङमा दर्ता भएका खेलाडी हुन् ।

यसअघि पनि पारा तेक्वान्दो संघले खेलाडीको पासपोर्टलगायतका विषय राखेर खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित गर्दै उनीहरूको भविष्यमाथि खेलवाड गरेको आरोप छ ।

हालसम्म खेलाडीका लागि भएको खर्च पनि बालुवामा पानी हाले जस्तै हुने भएको जनाइएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव युवराज लामाले भने, ‘म कहाँ कुनै फाइल आइपुगेको छैन, यदि आयो भने प्रक्रियाअनुसार अगाडि बढ्छ ।’

प्रतिक्रिया