शुल्कवृद्धिको विरोध

काठमाडौं । नेकपा–माओवादीको भ्रातृसंगठन अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले डिप्लोमा तहमा बढाएको शुल्क खारेजको मागसहित आन्दोलन घोषणा गरेको छ । क्रान्तिकारीले सिटिइभिटीले शुल्क बढाएर अभिभावकको ढाड सेक्ने काम गरेकाले खारेजी माग गर्दै आन्दोलन सुरु गरेको हो । बिहीबार पत्रकार सम्मेलनमा डिप्लोमा तहका नर्सिङ, फार्मेसी र हेल्थ असिस्टेन्टमा बढाइएको शुल्क खारेजको माग भएको हो । सिटिइभिटीले शैक्षिक सत्रदेखि तीन विषयमा शुल्क बढाएको हो ।

क्रान्तिकारीका महासचिव रत्न ढकालले पटकपटक भएको छलफलमा शुल्क फिर्ता गर्न नमानेपछि आन्दोलनमा जानुपरेको जानकारी दिए । क्रान्तिकारीले शुल्क फिर्ता नगरे सिटिइभिटी तथा त्यसअन्तर्गतका कलेजमा तालाबन्दी गर्ने चेतावनी दिएको छ । ‘हामीसँगको वार्तामा शुल्क फिर्ता गर्ने सवालमा सिटिइभिटी मानेन,’ उनले भने, ‘बाध्य भएर तालाबन्दी र हडतालमा आएका हौँ ।’ (सौस)

प्रतिक्रिया