निजी छाडेर सरकारीमा आकर्षण

Dang-Deukhuriदेउखुरी, ८ वैशाख । ‘गाउँमा बोर्डिङ खुल्यो, एक वर्ष त त्यहीँ पढाएँ तर मासिक फिस धेरै भयो, त्यसैले सरकारीमा भर्ना गर्न आएकी,’ आदर्श उच्चमाध्यमिक विद्यालय देउपुरमा छोरालाई भर्ना गर्न आएकी एक अभिभावकले भनिन्, ‘सुरुमा त पढाइयो तर, मासिक शुल्क धान्नै नसक्ने भएपछि सरकारीमा हालेकी हुँ ।’

यस वर्षको भर्ना अभियानमा निजी विद्यालय छाडेर सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । निजी विद्यालय छाडेर सरकारी पुग्ने विद्यार्थी प्रायः माथिल्ला कक्षाका छन् । कतिपय अभिभावकले बोर्डिङ स्कुलको चर्काे शुल्क थेग्न नसकेपछि सरकारी विद्यालयमा छोराछोरी भर्ना गर्न पुगेका हुन् ।

सरकारी विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन थालनी गरेपछि विद्यार्थी र अभिभावकको सरकारी विद्यालय आकर्षणको केन्द्र बन्न थालेको हो । ‘माथिल्लो कक्षामा निजी विद्यालय छाडेर सरकारीमा भर्ना हुने विद्यार्थीको संख्या बढेको छ,’ आदर्श उच्चमावि देउपुरका प्राचार्य शशीधर ज्ञवालीले भने, ‘निजी विद्यालय छाडेर छोराछोरी भर्ना गर्न आउने अभिभावकले सरकारी विद्यालयबाट एसएलसी पास हुँदा माथिल्ला अवसर लिन सकिने भन्ने गरेका छन् ।’

बोर्डिङ स्कुलमा अभिभावले तल्लो तहमा आफ्ना बालबालिका पढाउन चाहन्छन्, ‘बोर्डिङको सानो कक्षामा बालबालिका भर्ना गरेमा उनीहरूको जग बलियो हुन्छ, अंग्रेजी राम्रोसँग जान्दछन्,’ लमहीका एक अभिभावकले भने, ‘माथिल्लो कक्षामा भने सरकारी बोर्डिङमा पढाउँदा अवसर लिन सजिलो हुन्छ ।’
आदर्श उच्चमावि देउपुरमा मात्रै अहिलेसम्म ४० जना विद्यार्थी बोर्डिङ छाडेर भर्ना हुन पुगेको विद्यालयका प्राचार्य ज्ञवालीले बताए । ‘यो आकर्षण अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएका सरकारी विद्यालयमा छ,’ उनले थपे, ‘सरकारी विद्यालयलाई अब सुधार गर्न व्यवस्थापकीय पक्ष सुधार गर्न मात्र खाँचो छ ।’

निजी विद्यालयले मासिक शुल्कसहित अनावश्यक शुल्क थप गर्दै अभिभावकको ढाड सेक्ने काम गरेको अभिभावकहरूले बताउने गरेका छन् । यस वर्ष पनि निजी विद्यालयले भर्ना शुल्कसहित मासिक शुल्कमा वृद्धि गरेका छन् ।

विद्यार्थी तान्न विभिन्न स्कीमको व्यवस्था निजी विद्यालयले गरेका छन् । एउटै परिवारबाट तीनजना बालबालिका भर्ना भएमा एउटाको मासिक शुल्क मिनाहादेखि अन्य धेरै सुविधा दिने आश्वासनमा विद्यार्थी भर्ना गरिरहेका छन् । सामान्य परिवारले निजी बोर्डिङमा आफ्ना छोराछोरी पढाउने कल्पना पनि गर्न नसक्ने देखिएको छ ।

प्रतिक्रिया