उपाधिका लागि सशस्त्र र आर्मी भिड्ने

Mahesh Chhetriकाठमाडौं, १० चैत । एकदिवसीय सिनियर राष्ट्रिय क्रिकेटको उपाधिका लागि सशस्त्र प्रहरी(एपीएफ) र त्रिभुवन आर्मी भिड्ने भएका छन् ।

कीर्तिपुर मैदानमा सोमबार भएको सेमिफाइनलमा आर्मीले क्षेत्र नम्बर ६ बैतडीलाई ११८ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

यता इन्जिनियरिङ मैदान भएको अर्को सेमिफाइन खेलमा क्षेत्र नम्बर २ वीरगञ्जलाई ७ विकेटले पराजित गर्दै सशस्त्रले उपाधिका लागि आर्मीसँगको भिडन्त तय गरेको थियो ।

पहिले ब्याटिङ गरेको आर्मीले बैतडी सामु महेश क्षेत्री र अनिल मण्डलको शतकको मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर ३३० रनको लक्ष्य पेस गरेको थियो ।

आर्मीका ओपनरद्वय क्षेत्री र मण्डलले पहिलो विकेटका लागि २४७ रनको साझेदारी गरे । मेहेशले १४३ बलमा १३४ रन बनाउदा उता अनिल मण्डलले १२५ बलमा १२८ रनको योगदान दिए ।

आर्मीका अन्य ब्याट्सम्यान भने राम्रोसगं चल्न सकेनन् । बैतडीको बलिङतर्फ बसन्त खत्रीले ३ र कमल ऐरीले २ विकेट हात पारे ।

त्यस्तै ३३० रनको लक्ष्य पछ्याएको बैतडीले ३६.२ ओभरमा सबै विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो । उसका लागि प्रशान्त विष्ट र बसन्त खत्रीले ५३ रनको योगदान दिए ।

आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने राहुल विकले २ विकेट आफ्नो नाममा लेखाए । महेश प्लेयर अफ दि म्याच भए ।

पुल्चोकमा पहिले ब्याटिङ गरेको वीरगञ्ज ४२.२ ओभरमा १३४ रन जोड्दा सबै विकेट गुमायो ।

वीरगजंका लागि अनिल साहले ४० र सुरज कुर्मीले २८ रन जोडे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

एपीएफका आरिफ शेखले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ३८ रन दिएका थिए । यज्ञमान कुमाल र बसन्त रेग्मीले २–२ विकेट हात पारे ।

जवाफमा एपीएफले मात्र १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि ओपनर सुवास खकुरेलले ५२ बलमा ७१ रन बनाए भने प्रदीप ऐरीले ३४ रन जोडे ।

इशाद अहमदले २ विकेट लिए । एपीएफका आरिफ शेख म्यान अफ दि म्याच बनेका छन् ।

प्रतिक्रिया