काठमाडौं, ७ चैत । दलित अधिकारलाई संविधानको मौलिक हकमा राखिनुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिभेद दिवसको सन्दर्भमा राष्ट्रिय दलित आयोगले आज राजधानीमा आयोजना गरेको पदयात्राका क्रममा सहभागी वक्ताहरूले राज्यको नीति निर्माण तहमा गर्ने स्थानमा दलितको पहुँच अभिवृद्धि गर्नुपर्ने, जातीय छुवाछूत अन्त्य गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्नेलगायतका माग गरेका थिए ।
आयोगका अध्यक्ष मानबहादुर नेपालीले जातीय विभेदका कारण दलित वर्ग लामो समयदेखि अधिकारबाट वञ्चित रहेको र यो मानवताविरुद्धको अपराध भएकाले यसलाई न्यूनीकरण गर्न व्यावहारिक पक्षको महत्व हुने बताए ।
भद्रकालीबाट सुरु भएको पदयात्रा सहिदद्वार, नयाँ सडक, रत्नपार्क, प्रदर्शनी मार्ग हुँदै नेपाल पुलिस क्लबमा पुगेर समापन भएको थियो ।
सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकामा काला जातिले जातीय विभेद उन्मूलनको माग गर्दै प्रदर्शन गर्दा तत्कालीन सरकारले गोली चलाउँदा करिब ६९ जनाको हत्या भएको थियो ।
त्यसको अन्तर्राष्ट्रिय तहमा चौतर्फी विरोध भएपछि संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सोही वर्षको अप्रिल १ मा रङ्गभेद तथा जातिभेदको विरुद्ध १३४ नम्बरको प्रस्ताव पारित ग-योे ।
सन् १९९० मा नेल्सन मण्डेला सत्तामा आएपछि सो घटनाको सम्झनामा आजको दिनलाई मानव अधिकारको दिनका रूपमा मनाउन थालियो ।
प्रतिक्रिया