बहिरा क्रिकेटको उपाधि सुनसरीलाई

1426504469064_GPP-Morang-cricketमोरङ, ५ चैत । छैटौँ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुनसरी बहिरा क्रिकेट सङ्घले मोरङ बहिरा क्रिकेट सङ्घलाई छ रनले पराजित गरी उपाधि हात पारेको छ ।

नेपाल बहिरा क्रिकेट सङ्घको आयोजनामा बुधबार भएको प्रतियोगितामा विजेता सुनसरीले ४० हजार र ट्रफी तथा उपविजेताले ३० हजार र ट्रफी हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको सुनसरीले १९ दशमलव २ बलमा सबै विकेट गुमाएर एक सय १२ रनको योगफल खडा गरेको थियो ।

जसमा महेन्द्र लिम्बूले सर्वाधिक २२ रनको योगदान गरे । मोरङका आरिफ अन्सारीले सर्वाधिक तीन विकेट लिए ।

एक सय १३ रनको विजयी लक्ष्य पछ्याएको मोरङ १९ दशमलव १ बलमा सवै विकेट गुमाई एक सय छ रनमा सीमित हुन पुग्यो ।

जसमा आर्य सिंहले २४ रनको योगदान दिए । सुनसरीका ‘म्यान अफ द फाइनल’ सन्तोष नेपालले तीन विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङका महमद साबिर, उत्कृष्ट ब्याट्सम्यान झापाका विवेकबहादुर लिम्बू तथा उत्कृष्ट बलर सुनसरीका निरज श्रेष्ठ घोषित भए ।

विजयी खेलाडीलाई जिविस मोरङका योजना प्रमुख डम्बर बराल र विराटनगर उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख राजेन्द्र प्रधानले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

यही चैत १ गतेदेखि भएकोे प्रतियोगितामा सुनसरी बहिरा क्रिकेट सङ्घ, मोरङ बहिरा क्रिकेट सङ्घ, झापा बहिरा क्रिकेट सङ्घ, कास्की बहिरा क्रिकेट सङ्घ, काठमाडौं बहिरा क्रिकेट सङ्घ र केन्द्रीय बहिरा उच्च माविको सहभागिता थियो ।

प्रतिक्रिया