राष्ट्रिय क्रिकेटमा वीरगन्ज र पोखराको जित

cricket_ballकाठमाडौं, ३० फागुन । सिनियरतर्फको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भएका खेलमा क्षेत्र नं २ वीरगन्ज र पोखरा विजयी भएका छन् ।

समूह ‘ए’मा तीन जित र एक हारसहित वीरगन्ज चार अङ्कका साथ दोस्रो स्थानमा छ भने पहिलो जित हात पारेको पोखरा चौथो स्थानमा चित्त बुझाइरहेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा शुक्रबार वीरगन्जले क्षेत्र नं ७ जनकपुरमाथि नौ विकेटको सानदार जित दर्ता गरायो ।

त्यस्तै, पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा पोखराले क्षेत्र नं ५ नेपालगन्जलाई सजिलै ९८ रनले स्तब्ध पार्‍यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको झिनो लक्ष्य मात्र दिन सकेको थियो ।

जवाफी ब्याटिङमा आएको वीरगन्जले मात्र एक विकेटको क्षतिमा १५ ओभरमै सजिलै लक्ष्य भेटायो । वीरगन्जको सहज जितका लागि अविजित रहँदै अर्धसतक बनाएका हसिम अन्सारी र अमित श्रेष्ठको योगदान उच्च रह्यो ।

हसिमले २८ बल खेल्दै ५८ रन बनाए भने अमितले ५० रनको पारी खेले । रवि थापा नौ रनमा पविलियन फर्किएका थिए ।

यसअघि जनकपुरका हिमाङ्शु दत्तले २४, सुनिल साहले ३२, हरिशङ्कर साहले २२ तथा अविजित रहेका सुमितचन्द्र देवले २१ रन बनाउदा अन्य ब्याट्सम्यान वीरगन्जको कसिलो बलिङसामु टिक्न सकेनन् र सस्तैमा आउट भए ।

‘प्लेयर अफ द म्याच’ घोषित वीरगन्जका याशिन अन्सारीले चार विकेट झार्दा जनकपुर दबाबमा आयो ।

इर्साद अहमद र कुमार थापाले दुई–दुई तथा रामनरेश गिरी र उदित श्रेष्ठले एक–एक विकेट विकेट चट्काएका थिए ।

राहुलप्रताप सिंहले एक विकेट लिन बाहेक जनकपुरका अन्य बलरले कुनै विकेट लिन सकेनन् । टस जितेर ब्याटिङ गरेको पोखराले पूरै ओभर खेल्दै आठ विकेट गुमाएर २३४ रनको मध्यम लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालगन्जले ३६.५ ओभरमै सबै विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो ।

पोखराका ‘प्लेयर अफ द म्याच’ निश्चल पाण्डेले अलराउन्ड प्रदर्शन गरेका थिए । चार विकेट पनि लिएका निश्चलले ४१ रनको पारी खेलेका थिए ।

त्यस्तै सुदीप पौडेलले ३९, विधान श्रेष्ठले ३७, करण केसीले २७, सन्तोष भट्टराईले २६ र अविजित रहेका विवेक तिवारीले बनाएको १२ रनको योगदान पोखराको जितका लागि महत्वपूर्ण रह्यो ।

नेपालगन्जका अनुपम सिंहले २८, राजवीर सिंहले २७ तथा सुवेन्दु पाण्डेले २३ रनबाहेक अन्यले राम्रो स्कोर बनाउन सकेनन् ।

नेपालगन्जका ब्याट्सम्यानलाई रोक्ने क्रममा निश्चलको चारबाहेक प्रदीप खरेल र दीपेश श्रेष्ठले दुई–दुई, सुशील कँडेल र विवेकले एक–एक विकेट लिएका थिए ।

पोखराका अमरसिंह रौतेला र अविनाश बोहरा दुई–दुई तथा नासिर अन्सारी, आकाश विष्ट, प्रज्वल शाही र रनवीरले एक–एक विकेट लिएका थिए ।

दुवै खेलका ‘म्यान अफ द म्याच’ले डोमियर सपिङ एन्ड सुटिङ सेन्टरका तर्फबाट तीन हजारबराबरको गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत शनिवार टियू मैदानमा क्षेत्र नं २ वीरगन्ज र क्षेत्र नं ७ जनकपुर तथा पुल्चोकमा क्षेत्र नं ८ पोखरा र क्षेत्र नं ७ नेपालगन्जबीच भिडन्त हुनेछ ।

प्रतिक्रिया