डोटी, १३ चैत । ‘पुस्तौं देखि हलियाको नाममा रहेको ऋण खारेज सहित औपचारिक रुपमा हलिया मुक्तिको घोषणा ।’
यो घोषणा नेपाल सरकारले २०६५ साल भाद्र २१ गते गरेको हो । राष्ट्रिय हलिया मुक्ती समाजको सशक्त आन्दोलनपछि तत्कालीन सरकारले ऋण खारेजी सहित औपचारिक रुपमा हलिया मुक्तीको घोषणा गरेको भएपनि हलियाहरु अझै मुक्त हुन सकेका छैनन् । जग्गाधनीसँग हलिया बस्ने गरी ऋण लिदाँ बनेको तमसुक नच्यातिँदा अहिले पनि मालिकहरुले आफुहरुलाई ऋण माग्ने गरेको मुक्त हलियाहरुको गुनासो छ ।
डोटी मुड्भरा गाविस–२ को मुक्त हलिया वाजी भुल सार्कीकी पत्नी परुलीदेवी सार्की भन्छिन, ‘मालिकले अहिले पनि साँवा र व्याज सहित ऋण फिर्ता गर्न दवाव दिईरहेका छन् । आफुहरुसंग घर जग्गा समेत केही नभएकाले आफुहरुले रातो रंगको (“क” वर्गको) मुक्त हलिया परिचय पत्र पाएको बताउँदै परुलीले कसरी र कहाँवाट ऋण तिर्ने भन्ने चिन्ता लागेको बताईन् ।
अर्का मुक्त हलिया लक्ष्मण भुल भन्छन, ‘तमसुक मालिकसँगै छ, दुई/तीन पटक ऋण फिर्ता गर्न भन्नु भएको छ तर पैसा छैन कहाँबाट दिने । पैसा भए त आफुले पनि तिरी दिने सोचेको थिए’ लक्ष्मणले भने, ‘अर्काको ऋण राख्नु भन्दा त तिर्नै राम्रो हो तर कहाँबाट तिर्ने ?’
आफुहरु अहिले पनि हलो जोत्न वाध्य रहेको वताउँछन पचनाली गाविस–६ का नन्ना भुल । सरकारले हलिया मुक्तीको घोषणा मात्र गरेको तर पुर्नस्थापनाका लागि कुनै पहल नगरेकोप्रति आक्रोस पोख्दै नन्नाले भने, ‘हामी हलिया नै ठिक छौं, कम्तीमा साहुँहरुको हलो जोतेर त आफ्नो परिवार पालिरहेका छौं, सरकारले त्यो पनि छुटाउन खोज्दैछ । हलिया भएर अर्काको बन्धनमा बस्नु कसैलाई पनि राम्रो नलाग्ने बताउँदै नन्ना भन्छन, ‘तर भोकै मर्नु भन्दा त हलो जोतेरै भएपनि केटाकेटी पाल्नु पर्यो ।’
हलियाबाट मुक्त भएकोमा खुशी व्यक्त गर्छन मुडभरा–५ गरुडीका चेत कामी । हलिया बस्नु पर्दाको पिडा आफुले राम्रोसँग भोगेको बताउँदै सरकारले मुक्त गर्नु नै आफ्ना लागि मुक्ती भएको चेतको भनाई छ । फेरी हलिया बस्नु वाध्यता भएको कुरा प्रति असहमति जनाउँदै कामीले भने, ‘पुन: हलो मात्रै जोते पेट पालिन्छ भन्ने मानसिकता गलत हो । गिट्टी कुटेर, ज्याला मजदुरी गरेर, जमिन अदेलो बनाएर गुजारा गर्न सकिने बताउँदै कामीले आफु पनि खेत अदेलो बनाएर गुजारा गरिहेको बताए । हलिया मुक्ती गर्नमा राष्ट्रिय हलिया मुक्ती समाज महासंघले आन्दोलन गरेको र आफुहरु मुक्त भएकोमा महासंघलाई धन्यवाद दिँदै कामीले अब पुन:स्थापनाका लागि समेत आन्दोलनको नेतृत्व गर्न आग्रह गरे । आफुलाई मालिकले अहिलेसम्म ऋण फिर्ता गर्न नभनेको भएपनि पैसा भए तिरिदिने सोच बनाएको चेतको भनाई छ । उनी भन्छन, ‘तर अहिले त पैसा नै छैन ।’
अब हाम्रो अवस्था के हुने हो ? अधिकांस मुक्त हलियाहरुको एउटै प्रश्न छ । नेपाल सरकारले न्यायिक पुन: स्थापना सहितको मुक्तीको घोषणा गरेको हो तर अहिलेसम्म वास्तविक हलियाहरुले परिचयपत्र समेत पाएका छैनन् । नन्ना भुल भन्छन्, ‘अब मुक्त हलियाहरुको अवस्था के हुने हो ।’ मालिकसँगको सम्बन्ध पनि ऋण मिनाहका कारण बिग्रेको नन्नाको धारणा छ ।
हामीलाई सरकारले के दिने हो हजुर ? मुड्भरा–२ का मुक्त हलिया नरबहादुर सार्कीकी पत्नि राईमति सार्की सञ्चारकर्मीसंग सोध्छिन् । उनी भन्छिन, ‘हामीसँग एक सानो घर बाहेक अरु केही पनि छैन ।’
सुदुरपश्चिमका नौ र मध्यपश्चिमका तीन गरी १२ जिल्लामा १८ हजार ६९ र डोटी जिल्लामा एक हजार आठ सय २१ जना मुक्त हलिया रहेको सरकारी तथ्यांकले देखाएको छ । मुक्त हलियाको अवस्था अनुसार चार प्रकारका मुक्त हलिया परिचय पत्र बितरण भईरहेको राष्ट्रिय हलिया मुक्ती समाज डोटीका कार्यक्रम संयोजक गोरख सार्कीले जानकारी गराए । सार्कीका अनुसार घरजग्गा केही पनि नभएकालाई “क”, घर भएका जग्गा नभएकालाई “ख”, जग्गा भएका घर नभएकालाई “ग” र घरजग्गा दुवै भएका मुक्त हलियालाई “घ” वर्गको परिचय पत्र बितरण भइरहेको छ ।
प्रतिक्रिया