मलेसियन विमान वेपत्ता प्रकरण

काठमाडौं : एक सातादेखि हराइरहेको मलेशियन एअरलाइन्सको विमानको खोजीमा खटिएको अमेरिकी टोलीले हिन्द महासागरतर्फ अगाडि बढ्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएको छ । सम्पर्कविहीन भएको केही घन्टासम्म पनि विमान उडेको हुनसक्ने आशंका गरिएपछि अनुसन्धानकर्ताहरूलाई हिन्द महासागरतर्फ खोजी गर्न अमेरिकाले निर्देशन दिएको हो ।
६ दिनदेखि साउथ चाइना समुद्रमा हराइरहेको विमान खोजिएको थियो । अनुसन्धानमा सक्रिय केही अधिकारीहरूले सो विमान सम्पर्कविहीन भएको झन्डै पाँच घन्टासम्म पनि उडेको दाबी गरेका छन् । सोही कारण विमान अपहरणमा पनि परेको हुन सक्ने र जानीजानी दुर्घटना गराइएको हुन सक्ने आशंका गरिएको छ । जसका कारण विमानको खोजीको दायरा थप फराकिलो बनाइएको हो । तर मलेसियाली अधिकारीहरूले भने सो अनुमान अपरिपक्व भएको बताइरहेका छन् ।
गत शनिबारबाट मलेसियन एअरलाइन्सको विमान एमएच ३७० हराइरहेको छ । २ सय ३९ यात्रु बोकेको सो विमान क्वालालाम्पुरबाट चीनको बेइजिङका लागि उडेको थियो । मलेसियाको पूर्वमा रहेको साउथ चाइना समुद्रमाथि रहेको बेला सो विमानले अन्तिमपटक एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरेको थियो । जसका कारण एक सातादेखि १२ देशका टोली खोजीमा सक्रिय थिए ।
विमानको खोजी गर्न अमेरिकाले पनि सहयोग गरिरहेको छ । अमेरिकाले युद्धकपोत र अत्याधुनिक अनुसन्धान गर्न सक्ने विमान हिन्द महासागरतर्फ पठाएको छ । सो क्षेत्र मलेसियाबाट सयौँ माइल पर छ । पछिल्लो समय भारतीय जलसेना र हवाई सेनाले पनि विमानको खोजीमा सहयोग गरिरहेको छ । तर अहिलेसम्म विमानको कुनै अत्तोपत्तो छैन ।
विमानका बारेमा अहिलेसम्म बाहिर आएका सूचनाहरू गलत सावित हुँदै गएको अधिकारीहरूले जनाएका छन् । जसका कारण विमान बेपत्ता हुनु थप रहस्यमय बन्दै छ । तर, पछिल्लो समय विमान घन्टौँ उडेको भन्ने अनुमानलाई भने अमेरिकाले गम्भीरताका साथ लिएको बुझिएको छ । अधिकारीहरूका अनुसार यदि सो अनुमान सही सावित भयो भने विमान सो क्षेत्रबाट झन्डै १६ सय किलोमिटरभन्दा बढी यात्रा गरेको हुनसक्छ । जसका कारण विमान अपहरणमा पनि परेको हुन सक्ने आशंका गर्न थालिएको छ । विमानमा सवार यात्रु मध्ये १ सय ५३ यात्रु चिनियाँ छन् ।

प्रतिक्रिया